राजनीति

लुम्बिनी प्रदेशमा जसपाका चार सांसदकाे पद खाेसियाे

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा चार सांसदलाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको निर्देशन विपरीत सरकारबाट फिर्ता नभएको भन्दै जसपा कार्यकारिणी परिषद्ले पार्टीबाट निष्कासन गर्ने निर्णय प्रदेशसभालाई जनाकारी गराएपछि बिहीबार चारै जनाको पद गुमेको हो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार पार्टीबाट निष्कासन गरेको पत्र जसपाले पठाएकाले पद रिक्त भएको सूचना लुम्बिनी प्रदेशसभा सचिवालयले निकालेको छ ।

सचिवालयले सार्वजनिक गरेका सूचनामा उल्लेख गरिएको छ, ‘श्री सन्तोष कुमार पाण्डेय, माननीय सदस्य श्री विजय बहादुर यादव, माननीय सदस्य श्री सुमन शर्मा रायमाझी र माननीय सदस्य श्री कल्पना पाण्डेलाई प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरिएको सूचना राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १९९ बमोजिम हाल प्रदेश सभाको बैठक चालु नरहेकोले सचिवालयको सूचना पाटीमा आदेशानुसार टाँस गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

चारै जना सांसदहरुसमेत भइ वैशाख ६ गते मुख्यमन्त्री शंखर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

उक्त प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरुले मन्त्री पदको शपथ लिएका थिए । जसपाले पार्टी निर्णयअनुसार मन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावको पक्षमा उभिन निर्देशन दिए पनि अस्वीकार गरेपछि पार्टीले कारबाही गरेको हो ।

प्रदेशसभामा अब जसपाका दुई मात्रै सांसद बाँकी छन्। चार सांसदलाई जसपाले निष्कासन गरेपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार संकटमा परेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत