राजनीति

मुख्यमन्त्रीबिरूद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहँदा सांसद् हराएपछि प्रदेशसभाको बैठक स्थगित

पोखरा । राष्ट्रिय जनमोर्चाका एक सांसद् बेपत्ता भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीले निवेदन दिएको थियो ।

प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित रहेको र उनी सम्पर्कविहीन रहेपछि सोही पार्टीका तर्फबाट सांसद पियारी थापाले केहीबेर अघि प्रदेशसभा सचिवालयमा निवेदन दिएकी हुन् । उनले सांसद शाही सम्पर्कविहीन भएको भन्दै खोजीका लागि निवेदन दिँदै प्रदेशसभा बैठक स्थगनका लागि माग गरेकी थिइन् ।

प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

यसअघि बुधबार बसेको प्रदेशसभा बैठक सभामुख नेत्रनाथ अधिकारीले साढे चार बजेसम्मका लागि स्थगित गरेका थिए । जनमोर्चाका सांसद शाही प्रदेशसभामा अनुपस्थित रहेको पार्टीको सम्पर्कमा समेत नरहेपछि अविश्वास प्रस्तावका पक्षधर दलहरुले बैठक स्थगन गर्न माग गरेका थिए ।

सम्बन्धित पार्टीले आफ्नो सांसद सूचनाविना नै सम्पर्कविहीन भएको भन्दै निवेदन दिइसकेपछि पहिला ती सांसदको खोजी गर्नु प्राथमिक कर्तव्य हुने उनले बताए । 

सचेतक थापाले दर्ता गरेको पत्रमा अज्ञात रहेका सांसद शाहीको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र सार्वजनिक नभएसम्मका लागि सदन स्थगित गर्न माग गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत