गाउँ सहर

खै कसरी जाने हाेला ? बसपार्कमा घर जान यात्रुहरुको भीड, लामो दूरीमा सिट नपाएको यात्रुकाे गुनासो

काठमाडाैं । काठमाडाैं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लागू हुने भएपछि गोङ्गबुस्थित नयाँ बसपार्क, काेटेश्वर, चाबहिल, गाैशाला लागयत टिकट काउन्टरहरूमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।

लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । बझाङ जानका लागि टिकट काट्न सोमबार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गरे । लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताउनुभयो । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् । काठमाडाैं महानगरपालिकाको स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको नयाँ बसपार्कमा एक हजार ५०० भन्दा बढी सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्ने ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।

पछिल्लो समय नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क निर्माणका लागि ल्होत्से बहुउद्देश्यीय प्रालि लागेको छ । प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि आफूले काम गरिरहेको बताउनुहुन्छ । नयाँ बसपार्कमा हाल सञ्चालन भएका टिकट काउन्टर बन्द गरिएको छ । टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि वैशाख १ देखि नयाँ बसपार्कभित्रका सम्पूर्ण काउन्टर बन्द गरिएको अध्यक्ष कुँवरको भनाइ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत