प्रेरणा

‘मन’ नियन्त्रण गर्न सके अशान्त संसारमा पनि शान्ति मिल्छ

अहिले प्रायः मानिसहरु थकित र चिन्तित छन्‌ । निःसन्देह नै हामीलाई अगुवाइ र परामर्श, सुरक्षा र निश्चयताको आवश्यकता छ । हामीलाई मनको शान्तिको आवश्यकता छ, हामीलाई यो चाहिएको छ ।

मनको शान्ति-कति गजबको सम्पत्ति । के यस्तो सम्पत्ति यति बिघ्न द्वन्द्व र चिन्ता, भद्रगोल र दुःखले भरिएको संसारमा पाउन सकिन्छ होला ?

चरम खोजी जारी छ । धेरै मानिसहरूले शान्तिलाई सम्मान र समृद्धिमा, सुख-सयल र शक्तिमा, शिक्षा र ज्ञानमा, मानवीय सम्बन्धहरू र विवाहमा खोजिरहेका छन्‌ । उनीहरूले आफ्नो टाउको ज्ञानले र आफ्नो थैलो धनले भर्ने इच्छा राख्छन्‌, तर उनीहरूको आत्मा भने रित्तो रहन्छ । कोही भने लागू-औषध वा मदिरा सेवन गरेर जीवनको यथार्थहरूबाट भाग्न खोज्दै गरेका हुन्छन्‌, तर उनीहरूले खोजेको शान्तिले उनीहरूलाई छल गर्छ । उनीहरू अझै पनि रित्तो र एक्लो नै हुन्छन्‌, दुःखित संसारमा अझै पनि दुःखित मन लिएर रहेका हुन्छन्‌ ।

मन अशान्त हुने मुख्य कारण हाम्रो इच्छाहरु नै हुन् । जबसम्म हामीमा इच्छाहरु हुन्छन्, मन शान्त हुँदैन ।

यस सम्बन्धमा एउटा कथा प्रचलित छ । कथाका अनुसार एक जना राजा थिए । ती राजाले हरेक दिन विहान दान गर्दथे । जस कारण राजाको प्रसिद्धि अन्य राज्यहरुमा पनि फैलिएको थियो  । हरेक दिन विहान राजाको महल बाहिर गरीव मानिसहरुको लाइन लागेको हुन्थ्यो । राजालाई यो कुराप्रति घमण्ड पनि थियो ।

एक दिन राज्यको महलमा प्रसिद्ध सन्त पनि आए । सन्तलाई देखेर राजा खुशी भए, र उनलाई प्रणाम गरे । सन्तले राजालाई भने-‘मेरो कलश स्वर्ण मुद्राहरुले भरिदेउ ।’ राजाले ती सन्तलाई धेरै सम्मान गर्थे । राजाले जवाफ दिँदै

भने- ‘गुरुजी यो त अत्यन्त सानो काम हो, म अहिले नै तपाईंको यो भाँडालाई स्वर्ण मुद्राले भरिदिन्छु ।’

राजाले आफुसँग राखेको स्वर्ण मुद्राहरु त्यो भाँडामा हाल्दा सबै मुद्रा गायव भयो । त्यसपछि राजाले आफ्नो मन्त्रीसँग अरु मुद्रा मगाएर त्यो भाँडामा हाले, तर ती सबै मुद्राहरु पनि गायब भए । राजाले मुद्रा गायब भएको देखेर आश्चर्यमा परे ।

राजालाई आफ्नो कुरा पुरा गर्नु थियो । त्यसैले उनले राज्यको कोषाध्यक्षलाई स्वर्ण मुद्राहरु लिएर आउनका लागि आदेश दिए । केही क्षणमा नै कोषाध्यक्ष अत्यधिक धेरै स्वर्ण मुद्राहरु लिएर आए ।

राजाले कोषाध्यक्षले ल्याएका स्वर्ण मुद्राहरु त्यो भाँडामा हाल्न थाले । तर त्यो भाँडा खाली नै भइरहृयो  । राजाले सन्तको अगाडि हात जोडेर माफी माग्दै हार नै माने र भने-‘कृपया यो भाँडाको रहस्य के हो ? यो किन भरिएन ? बताउनुहोस् ।’

सन्तले जवाफ दिए-‘राजन, यो भाँडाले हाम्रो मनको प्रतिनिधित्व गर्छ । जसरी हाम्रो मन धनबाट, पदबाट र ज्ञानबाट कहिले भरिँदैन, ठीक त्यसैगरी यो भाँडा पनि कहिले भरिँदैन । हामीसँग जति धन भएता पनि, हामीले जति नै ज्ञान आर्जित गरेता पनि, सम्पूर्ण संसार जीते पनि मनका इच्छाहरु कहिले सकिंदैन । हाम्रा इच्छाहरु अनन्त छन् । ती कहिले पुरा हुन सक्दैन् । त्यसैले हामी हरेक स्थितिमा खुशी हुन सिक्नु पर्छ । जस्तो अवस्थामा पनि सन्तुष्ट रहनु पर्छ । कहिले पनि घमण्ड गर्नु हुँदैन । हरेक क्षण भगवानको ध्यान गर्नु पर्छ, तबमात्र जीवन सार्थक बन्न सक्छ । इच्छा र घमण्डलाई त्याग गर्दा मन शान्त हुन्छ ।’

मनको असर शरीरमा पर्छ भनिन्छ । मन रमाएको बेला शरीर स्फुर्ती हुने र मन दुःखी भएको बेला आलस्य र गाह्रो हुने कुराको महसुुस त हामी सबैले गरेकै छौँ । मानिसको मन र मस्तिष्कमा के–कति दृश्य र घटनाहरू अटाउँदा रहेछन् भन्ने थाहा पाउन विपश्यना गर्नुपर्छ । जिन्दगीमा देखिएका, भोगिएका एकपछि अर्को दृश्य आँखावरिपरि आउँछन् ।

मनलाई वशमा राख्ने काम व्यक्ति स्वयम्को हो । मनमा उत्पन्न हुने भावना र मस्तिष्कमा उत्पन्न हुने विचारको जिम्मेवार मानिस स्वयम् हो । अरूले यी कुराको जिम्मेवारी लिन सक्दैन । भगवान् गौतम बुद्धले जीवनमा सुखदुःखको कारण मन भएकाले मनलाई शत्रु नबनाउ भन्नुभएको छ । आफ्नो मन अशान्त भएपछि मानिसले बाहिर कतै पनि शान्ति देख्दैन ।मनलाई बाहिरको कुनै पनि शक्तिले नियन्त्रण गर्न सक्दैन, आफैँले गर्ने हो ।

गाउँ सहर डेस्क

तपाईँको मत