राजनीति

राप्रपामा विभिन्न दल परित्याग गरी प्रवेश गर्ने क्रम बढ्दो

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विभिन्न दल परित्याग गरी प्रवेश गर्ने क्रम बढ्दो छ । बद्लिँदो परिवेशसँगै पाँचथरमा यो क्रम विकसित भएको देखिन्छ । मिक्लाजुङ–२ सराङडाँडामा सम्पन्न राप्रपाको वडा भेलामा ३३ जना युवाहरुले राप्रपामा प्रवेश गरे ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्रपाका कार्यसम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले भने, ‘देशव्यापी रुपमा राप्रपाले उठान गर्दै आएको राजसंस्था र सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको मुद्दामा युवाहरुको आकर्षण बढ्दो छ । यही अवस्था पाँचथरमा पनि देखिएको छ ।’

राप्रपा वडास्तरीय भेलाको क्रममा नेपाली कांग्रेस परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा जयकुमार राई, विराज राई, निर्मल राई, सचिन राई, भिराज राई, दिवस आङदेङवे, रत्न बहादुर आङदेङवे, पद बहादुर आङदेङवे, जयन्द्र राई, कृष्ण कुमार राई, दिपेन्द्र राई, नविन राई, अमृत माया राई, विना राई, पवित्रा राई, पदम प्रसाद आङदेङवलगायत थिए ।

सो अवसरमा पार्टी प्रवेश गर्नेहरुमा कुनै राजनीतिक दलसँग आवद्ध नभई स्वतन्त्र अस्तित्वमा रहेका युवाहरु समेत थिए । उक्त समूहमा टेक बहादुर बस्नेत, तिल बहादुर खड्का, निर्मला बस्नेतलगायत समावेश थिए ।

समूहगत रुपमा राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले सो अवसरमा भने, ‘दुईतिहाइ बहुमत प्राप्त सरकारले जनआकांक्षा पूर्ति गर्न नसकेपछि देशमा अहिले एक किसीमको अन्योल छ । यो अन्योल र अस्थिरतालाई चिर्न राजा सहितको प्रजातन्त्र अपरिहार्य देखिएको छ । बहुसंख्यक जनताको माग यही छ ।’

राप्रपा पाँचथरका सचिव कमलकुमार राईले नयाँ नेपाल, संघीयता र पहिचानको नाममा जनता झुक्याउने दिन अन्त्य भएको बताए । नेपाल र नेपालीको पहिचान कायम राख्न राजसंस्था आवश्यक रहेको बताए ।

यसैगरी छुट्टै प्रसंगमा तुम्बेवा–४ ओलनेमा आयोजित राप्रपा वडास्तरीय भेलामा निर्वाचित पूर्व वडा अध्यक्ष डम्बर बहादुर साँवाले नेकपा एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका थिए । साँवालाई राप्रपाका नेता लावतीले पार्टीमा स्वागत गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत