स्वास्थ्य

कोभिड–१९ सतर्कताबारे लेखनाथ उद्योग वाणिज्य संघको छलफल

लेखनाथ । बढ्दो कोभिड–१९को प्रकोपबारेमा लेखनाथ उद्योग वाणिज्य संघले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लेखनाथमा रहेको गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल पोखरा–३० का निर्देशक डाक्टर विकास गौचनले कोभिड–१९को प्रकोप बारेमा बोल्दै सङ्क्रमितको उपचारका बारेमा आफ्ना अनुभव व्यक्त गरेका थिए । 

 संघका अध्यक्ष बलराम ढकालले कोरना भाईरसका कारण  व्यवसायमा परेको प्रभाव, अनुभव, समस्या र यस क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

नवलपरासी बर्दघाट–सुस्ता पूर्वको देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले कोरोना सङ्क्रमितको उपचारमा प्राकृतिक चिकित्सा विधि अपनाउदै संक्रमितलाई दिनहुँ शारीरिक ब्यायाम गराउन सके अत्यन्तै उपगोगी हुने बताए  ।

आफूहरुले कोरोना संक्रमितलाई दिनहुँ शारीरिक ब्यायाम, योगा, अर्गानिक खानपिनमा निरन्तरता दिँदै नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिरहेको उनले बताए ।

रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरमा आवश्यक पोषक तत्वहरूको कमीलाई समेत पूरा गर्दै  कोरोना संक्रमित छिटो कोरोना मुक्त हुनुका लागि कोरोनाको खराब अवस्था कम गर्न प्राकृतिक चिकित्सा विधि उपयुक्त भएको उनले बताए ।

सङ्क्रमित व्यक्तिलाई मानसिकरुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी मानसिक तनाव मुक्तिका लागि बिहान, बेलुका र साँझमा समय अनुकुलका योगा–ध्यान, प्रणायाम, अन्य मनोरञ्जनात्क कार्यक्रम गराए सङ्क्रमितहरु चाँडै निको हुने उनले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका  प्रहरी नायब उपरीक्षक महेन्द्र मरासैनीले शान्ति सुरक्षा बिना कुनै पनि किसिमका र्आिर्थक क्रियाकलाप अगाडि बढ्न नसक्ने बताउँदै कोभिड १९ को संक्रमणको अवस्थामा जनस्तरमा सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु, संघसंस्था, बैंक तथा वित्तीय संघसंस्था उद्योग प्रतिष्ठान कर्मचारीहरु ग्राहकसंग दैनिक प्रत्यक्ष सम्पर्कमा रहेका व्यापारीहरुले विशेष सतर्कता अपनाउन जरुरी रहेकामा जोड दिए ।

सोही कार्यक्रममा ईलाका प्रशासन कार्यालय  लेखनाथका प्रमुख गुरुदत्त ढकाललाई उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको थियो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवंम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरी, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी लगायतले बोलेका थिए ।

संघका महासचिव गोपिचन्द्र वास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत