सञ्चार

पोखरेली फोटो पत्रकारले गरे अन्नपूर्ण प्रथम आरोहणमा रेकर्ड राख्ने महिला फोटो पत्रकारलाई सम्मान

पोखरा । फोटो पत्रकार तथा हिमाल आरोही महिला पूर्णिमा श्रेष्ठलाई पोखराका फोटो पत्रकारहरुले सम्मान गरेका छन् ।

आरोहणमा निकै नै जोखिमपूर्ण मानिने अन्नपूर्ण प्रथम (८०९१ मि.)। आरोहण गरेर इतिहास रच्दै समग्र फोटो पत्रकारको गौरव बढाउन मदत पु-याएकाले बधाईसहित सम्मान प्रदान गरेको हो ।

फोटो पत्रकार सङ्घ, कास्की र फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशले उनलाई सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण गरेको हो । कारोबार दैनिक र न्युयोर्क टाइम्समा फोटो पत्रकारका रुपमा काम गर्दैै आएकी श्रेष्ठले आरोहण समूहका पूर्णिमा श्रेष्ठ, माया शेर्पा, शर्मिला तामाङ, पासाङ ल्यामु शेर्पा, दावा याङ्जेन शेर्पा, दावा फुटि शेर्पा सगै गत शुक्रबार दिउँसो साढे १ बजे अन्नपूर्ण प्रथमको सफल आरोहण गरेकी हुन् ।

 पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पर्यटन बोर्डका पूर्व सदस्य अग्नि कँडेल, फोटो पत्रकार, कास्कीका अध्यक्ष प्रदिप पौडेल, गण्डकीका अध्यक्ष राम गुरुङले उनलाई सम्मान गरेका हुन् ।

पोखराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले महिला र त्यसमाथि पनि फोटो पत्रकार भएर हिमाललाई नजिकबाट दृश्यावलोकन गर्दा नेपालको पर्यटन क्षेत्र विश्व बजारमा प्रचार भएको बताए  ।

पर्यटन बोर्ड पूर्व सदस्य अग्नि कँडेलले राज्यले सम्मान गर्न नसकेका बेला फोटो पत्रकारले राष्ट्रको गहनालाई सम्मान गरेको भन्दै प्रशंसा गरे  ।

फोटो पत्रकार सङ्घ, कास्कीका अध्यक्ष प्रदिप पौडेलले पत्रकारहरु अरुको फोटो खिच्ने र समाचार लेख्ने मात्रै होइन, आफैँ समाचारको विषय बन्ने गरी कीर्तिमान राख्न पनि सक्षम छन् भन्ने कुरा श्रेष्ठले प्रमाणित गरेको बताए ।

सङ्घ गण्डकीका अध्यक्ष राम गुरुङले श्रेष्ठले राखेको कीर्तिमानले समग्र फोटो पत्रकारलाई गौरवान्वित बनाएको बताए ।

सम्मान ग्रहण गरेपछि उनले सुरुमा फोटो पत्रकार बन्नका लागि सामान्य क्यामेरा किन्न पनि धौ धौ परेको अनुभव सुनाउँदै भनिन्, ‘सबै हिमाल चढेको सुन्दा त्यसको फोटो खिच्दै प्रकृतिसँग रमाउने धोको मेरो मनमा पनि थियो ।’

कसैको सहायतामा बेसक्याम्पसम्म यात्रा गर्ने अवसर मिलेको सम्झँदै श्रेष्ठले त्यहीँबाट फर्केपछि म पनि हिमाल चढ्छु भन्ने मनमा लागेको बताइन् । ‘आर्थिक अभाव त छँदै थियो तर सहकर्मीहरुले रुख चढ्न नसक्नेले हिमाल चढ्छु भन्ने ? भन्दै जिस्क्याउँथे’ उनले भनिन्, ‘त्यसैले मलाई हिमाल आरोहण गर्ने थप प्ररेणा मिल्यो ।’ योसँगै सगरमाथा, आमादब्लम र मनासलु  गरी चार हिमाल चढिसकेकी उनले अब धौलागिरि चढ्ने रहर भएको बताइन् ।

कार्यक्रममा फोटो पत्रकार सङ्घ, गण्डकी प्रदेशका महासचिव कृष्णमणि बराल, कास्की सचिव दुर्गा पौडेल, पर्यटन व्यवासायी टीकाराम सापकोटा, पत्रकार सागरराज तिमिल्सिना, नारायण आचार्य, इन्द्र पौडेल, घनश्याम पौडेल, सुरज श्रेष्ठ, युनिश गुरुङ, प्रेम थापालगायतले फोटो पत्रकारहरुको इज्जत पूर्णिमा श्रेष्ठको कीर्तिमानले थपिएको धारणा राखे ।

अन्नपूर्ण प्रथम आरोहणका लागि कठिन भएका कारण अहिले करिब २ सय ५० जना आरोहण गरिसकेका छन् । यो वर्ष मात्रै ६७ जनाले सफल आरोहण गरेका छन् । अहिलेसम्म २४ महिलाले आरोहण गरेका छन् भने यो वर्ष मात्रै नेपाली ६ जना र विदेशी ६ जनाले सफल आरोहण गरेका छन् ।

फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले ७० वर्षपहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् वि.सं. २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत