स्वास्थ्य

लकडाउनकाे संकेत ! ‘स्थिति गम्भीर छ, जनस्वास्थ्य मापदण्ड पालना नभएमा गाह्रो छ’

काठमाडाैं । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शैय्या भरिएका छन् । शैय्या भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् ।  

कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शैया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए । पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शयया छुट्याइएको छ । ‘तीन दिनदेखि सबै शयया प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेका छौं’ डा.पाण्डेले भने । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शैय्या भरिभराउ भएको जनाएको छ । 

अस्पतालमा तीन/चार दिनदेखि नै आइसियु र अन्य शैय्या भरिभराउ भइसकेको अस्पतालका कोभिड उपचार संयोजक तथा प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए । अक्सिजन चाहिने अवस्थाका बिरामीलाई प्राथमिकता दिएर उपचार गरेको र ज्वरोमात्र आएकालाई औषधि दिएर होम आइसोलेसनमा पठाउन थालेको उनले बताए । यो अस्पतालमा २० वटा आइसियुसहित ५४ वटा शैय्या कोभिड उपचारका लागि छुट्याइएको छ । बिरामीको चाप बढेपछि सामान्य लक्षण भएकालाई आयुर्वेद उपचार केन्द्र आइसोलेसन सेन्टरमा रेफर गरिएको उनले बताए ।

वीर अस्पतालले पनि कोभिडका बिरामीको उपचारका लागि छुट्याइएका शैय्या भरिन थालेको जनाएको छ । वीर अस्पतालमा १० वटा आइसियु र ६२ वटा शयया कोभिडका बिरामीको उपचारका लागि छुट्याइएको छ । सबै शैय्या भरिएपछि थप्ने तयारी भइरहेको अस्पतालका कोभिड १९ उपचार सम्पर्क चिकित्सक अच्युत कार्कीले बताए ।  

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पनि तीन/चार दिनदेखि कोभिड शैय्या भरिभराउ छन् । बिरामी भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयसँगै समन्वय गरेर अन्यत्र पठाइरहेको अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाले बताए । यो अस्पतालमा कोभिड उपचारका लागि ११ वटा आइसियुसहित ६० शययाको व्यवस्था गरिएको छ । बिरामी बढेपछि शैय्या थप्ने तयारी भइरहेको जानकारी थपलियाले दिए । संक्रमण तीव्र भएकाले बिरामीले सामान्य शैय्यासमेत पाउन नसक्ने अवस्था आउन सक्ने चिकित्सकले बताएका छन् ।  

दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको उनीहरूले औंल्याएका छन् । सरकारले उपचारका लागि शैय्या बिस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौती हुने स्थिति रहेको वीर अस्पतालका कोभिड उपचार चिकित्सक डा. कार्कीले बताए । ‘शैय्यामात्र भएर हुँदैन, उपचारका लागि जनशक्ति पनि तयारी हुनुपर्छ, त्यो सम्भव देखिँदैन’, उनले भने । सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा.पाण्डेले भने ।  

तीव्र संक्रमण नियन्त्रण गर्न अति आवश्यकबाहेक अन्य सेवा बन्द गर्नुपर्ने सुझाव त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक थपलियाको छ । ‘नेपालमा भारतकै शैलीमा संक्रमण तीव्र भएकाले नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने देखिन्छ’, उनले भने । तर लकडाउन गर्नुअघि सरकारले जनतालाई केही दिनअघि नै सूचना दिनुपर्ने उनी बताउँछन् ।  

शुक्रराज ट्रपिकल अस्पतालका डा.बास्तोला संक्रमणबाट जोगिन अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाउँछन् । ‘संक्रमित बढेमा शैय्या पाए पनि मृत्यु हुने सम्भावना हुन्छ, बरु अस्पतालमै जानुनपर्ने गरी जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक पालना गरौं’, उनको आग्रह छ ।  

राजधानीका मुख्यमुख्य कोभिड अस्पतालहरू भरिएपछि बिरामी व्यवस्थापन गर्न हम्मे परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक लागू गर्न, गराउन आदेश दिए पनि पूर्ण रूपमा पालना हुन नसकेकाले स्थिति गम्भीर बन्दै गएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । मापदण्ड पालना हुन नसकेपछि अर्को कदम चाल्नुपर्ने स्थिति आइसकेको उनले बताए । ‘स्थिति गम्भीर छ, जनस्वास्थ्य मापदण्ड पालना नभएमा गाह्रो छ’, उपत्यकामा लकडाउनसमेत गर्नुपर्ने अवस्था आइसकेको तर्फ संकेत गर्दै उनले भने । नागरिकमा समाचार छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत