निर्माण

लाप्राककाे एकीकृत नमूना बस्ती लालपूर्जासहित लाभग्राहीलाई हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकका भूकम्पपीडितका लागि बनाएको एकीकृत नमुना बस्तीका घरहरु लालपूर्जासहित धार्चे गाउँपलिकाका लाभग्राहीहरुलाई हस्तान्तरण गरिएको छ ।

बिहीबार (आज) गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक कार्यक्रमकाबीच लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जासहित लाभग्राहीहरुलाई हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा उनीहरुले दाताहरुको नाम भएको शिलापत्रको अनावरण समेत गरेका छन् । २०७३ साल बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाल सरकार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघबीच त्रिपक्षीय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो ।

वि.सं. २०७२ साल वैशाख १२ गतेको शक्तिशाली भूकम्पका कारण प्रभावित गोरखाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नमूना वस्ती हस्तान्तरण गर्न पाएकोमा नेपाल सरकारको तर्फबाट संघ तथा सहयोग गर्ने सम्पूर्ण गैरआवासीय नेपाली तथा संघ संस्थाहरु प्रति आभार प्रकट गरे ।

उनले पूर्वधार बिकासको लागि प्राधिकरणले प्रति घर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने बताए । संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ती निर्माण भई हस्तान्तरण गर्न पाउंदा अत्यन्त खुशी लागेको बताए ।

साथै, निर्माण गर्नु भन्दा पनि त्यसको सम्भार गर्न अझ कठिन र महत्वपूर्ण रहेको औंल्याए । उनले बस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहिहरु र गाउंपालिका तथा बडा कार्यालय लगायत अन्य संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा हरिराज अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरु, गाउँपालिकाका उपाध्यक्ष, पूल माया गुरुङ, सल्लाहकार एसि शेर्पा, उपाध्यक्षहरु डा. बद्री केसी र रवीना थापा, सचिव गौरीराज जोशी, युवा संयोजक हिमाल गुरुङ, एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, अमेरिकाजका क्षेत्रीय उपसंयोज राम चन्द्र पोखरेल, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत