गाउँ सहर

लाै पिउँ है ! मेलम्चीको पानी भक्तपुरमा पनि

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु भएको छ। मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि खानेपानी वितरण गरिएको हो ।

भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार संयुक्तरुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण गरे ।

उद्घाटन कार्यक्रममा सांसद बस्नेतले भने, ‘पहिलो चरणमै भक्तपुरमा मेलम्चीको पानी झार्न हामी सफल भयौँ, यो नेपाल सरकारको प्रभावकारी काम हो, तत्कालका लागि अब दैनिक ३० लाख लिटर पानी यहाँबाट वितरण हुन्छ, पानीको समस्या समाधान हुन्छ ।’

मेलम्चीको पानी काठमाडौँ आउने कथा मात्रै हो भन्नेलाई सरकारले पानी ल्याएर देखाइदिएको भन्दै प्रमुख श्रेष्ठले भने, ‘अहिले मध्यपुरथिमिका बासिन्दाका लागि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण शुरु भयो, अब केही दिनमै यसलाई बढाएर दैनिक ३० लाख लिटर पुग्नेछ।’

मध्यपुरथिमि नगरपालिकाले यहाँका प्रत्येक गल्लीमा पुरानो पाइपको ठाउँमा नयाँ पाइप जडान गरेको, नगरपालिकाले झण्डै चार करोड रुपैयाँ र खानेपानी बोर्डको समेत गरेर छ करोड रुपैयाँमा नयाँ पाइप लाइन बिस्तार गरेको उनले जानकारी दिए। उनका अनुसार बोडे टिगनीबाट काठमाडौँ अनामनगर पठाइएको पानी मेलम्ची आएपछि रोकेर लोकन्थलीमा वितरण प्रणाली मिलाइएको छ ।RSS

गाउँ सहर संवाददाता

तपाईँको मत