गाउँ सहर

ठडियाे धरहरा : अहिले तलबाट हेर्ने, पछि माथिबाट

काठमाडाैं । पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा बिहीबार गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मङ्गल धुन र स्वस्तिक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो । 

यो गजुर तीन सय ३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । त्यसमा ९५ तोला तीन लाल सुन छ ।

अहिले ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयारीस्वरूप अहिले रङ्ग लगाइएको हो । वैशाख ११ गते ११ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ । भूकम्पले भत्काएको संरचना पुनर्निर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आउँदो मङ्सिरसम्मको समय कुर्नुपर्नेछ । 

विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनर्निर्माणको कामले गति लिएको हो । गोरखाको बारपाक केन्द्रविन्दु भूकम्पले ढलेको धरहरा पुनर्निर्माणको प्रधानमन्त्री ओलीले नै विधिवत् रूपमा २०७५ पुस १२ गते उद्घाटन गरेका हुन् ।   

गाउँ सहर संवाददाता

तपाईँको मत