खेल

दर्शक बिनाकाे त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्सलाई हराएर फाइनल यात्राकाे लक्ष्य

काठमाडौं । आजकाे खेलमा नेपाल र नेदरल्यान्ड्स दर्शकाे हुटिङ बिनै खेल्दैछन् । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेका हुन् । काेराेना जाेखिम बढ्दै गएपछि सरकारले खेल हेर्न दर्शकलाई निषेध गरेकाे छ । 

त्रिभुवन विश्वविद्यालयकाे क्रिकेट मैदानमा नेपालले तेस्रो खेलमा नेदरल्यान्ड्स खेल्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।

सिरिजको दुई खेलमा नेपाल अपराजित रहेको छ । नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल नेदरल्यान्ड्सलाई हराएर लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

नेदरल्यान्ड्स पनि नेपाललाई हराएर फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेदरल्यान्ड्सले २ खेलमा १ जितसहित २ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।

दुई खेल गुमाएको मलेसियाले अंक जोड्न सकेको छैन । राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगाबै फाइनल पुग्ने समीकरण रहेको छ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई सहजै ९ विकेटले हराएको नेपाल दोस्रो भेटमा पनि त्यहिँ नतिजा निकाल्ने योजनामा रहेको छ ।

नेपालको लागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्दी हो । नेपालले सर्वाधिक टी-ट्वान्टी नेदरल्यान्ड्सविरुद्ध खेलेको छ ।

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ९ टी-ट्वान्टी खेल खेलेको छ । जसमा ७ टी-ट्वान्टी अन्तराष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ । नेपालले कुनैपनि राष्ट्रसँग खेलेको यो खेल सर्वाधिक हो ।

नेपालमा जारी सिरिज अघि नेदरल्यान्ड्स र नेपालले ओमानमा २०१९ मा भएको पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी सिरिजमा प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत