गाउँ सहर

संसद्मा सभामुखकाे भूमिकाप्रति प्रधानमन्त्रीको गुनासाे, कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलसँग सुझाव मागेको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।

नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेस गरेको बताए । उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसदमा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताए । ‘बैठकमा संसदले जे गर्नु पर्ने थियो त्यो नगरेको गुनासो प्रधानमन्त्रीले व्यक्त गर्नुभयो,’ लोहनीले भने ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी छन् । बैठकमा नेकपा (माओवादी केन्द्र) बाट भने कोही पनि नेता सहभागी भएका छैनन् । सर्वदलीय बैठकबारे आफूलाई जानकारी नै नदिइएको माओवादी केन्द्रले बताएको छ । RSS

गाउँ सहर संवाददाता

तपाईँको मत