राजनीति

कोरोना संक्रमणबाट विद्यार्थीलाई जोगाउन नेविसंघद्वारा सरकारकाे ध्यानकार्षण

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीमा कोरोना संक्रमण फैलन नदिन सरकारसँग माग गरेको छ । 

विद्यालय उमेरका बालबालिकामा कोरोना संक्रमण देखिएको भन्दै संक्रमण थप फैलन नदिन नेविसंघले सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रत्येक दिन देशभर सन्क्रमित संख्या बढिरहँदा समेत त्यसप्रति सरकारको अकर्मण्यता र लाचारीपूर्ण व्यबहारले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथि ठूलो  खेलवाड भइरहेको भन्दै संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्तिमार्फत सरकारको लाचारीप्रति रोष प्रकट गरेका छन् ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरु संक्रमित र संक्रमणकै कारण मृत्यु भइसक्दासमेत सरकार गम्भीर नहुनुले यो सरकार रहुन्जेलसम्म नेपाली नागरिकको बाँच्ने हक सुरक्षित हुन सक्दैन र यो सरकार जनतालाई राहत होइन आहत दिन उद्यत छ भन्ने कुराको स्वयं सरकारको प्रत्येक गतिविधिले पुष्टि गरिरहेको बताए ।

कोरोना संक्रमणको उच्च जोखिम दिन प्रतिदिन बढिरहेको सन्दर्भमा सबै विद्यालय, विश्व विद्यालय, क्याम्पस र शिक्षालय लगायतका शिक्षण संस्थाहरूमा स्वास्थ्य सावधानी र सतर्कताको तत्काल बिशेष ब्यवस्था गर्न र सबै विद्यार्थी हरुलाई तत्काल खोपको पूर्ण ब्यबस्था गर्न सरकारसँग माग गरिएको महामन्त्री तिमल्सिनाले बताए ।

तिमल्सिनाले यस्तै संक्रमण बढिरहेमा जोखिममा रहेका स्थानका शिक्षण संस्थाहरुमा केहि समयका निम्ति प्रत्यक्ष भौतिक उपस्तिथिमा गरिने पठनपाठनलाई बैकल्पिक पद्धति मार्फत सिकाइ प्रक्रिया सुचारु गरिनुपर्ने पनि बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत