राजनीति

गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको समावेदन

काठमाडौं । गण्डकी प्रदेशमा अधिवेशन अन्त्य भएको २४ घण्टा नबित्दै विपक्षमा रहेका दलहरुले बैठक बोलाउन समावेदन गरेका छन् । प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कांग्रेस, माओवादी र जनमोर्चाका सांसदहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष विशेष अधिवेशन आह्वानका लागि पत्र बुझाएका हुन् ।

“नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेशसभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम हामी तपशीलका गण्डकी प्रदेशसभा सदस्यहरुले माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि प्रदेशसभाको विश्वास छैन भनि अविश्वासको प्रस्ताव पेश गरेका छौँ,” समावेदनमा भनिएको छ,“नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजम मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्तावित गरेका छौँ । प्रदेशसभाको चालु अधिवेशन हठात अन्त्य गरिएको हुँदा मिति २०७८–०१–०१ मा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुन नसकेको हुँदा नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको विशेष अधिवेशन बोलाउन हामी तपशीलका प्रदेशसभा सदस्यहरुले सादर अनुरोध गर्दछौँ ।”

गण्डकी प्रदेशसभामा एमालेका २७, काँग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत