गाउँ सहर

अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, प्रधानमन्त्री ओलीद्वारा ‘मेरो कित्ता प्रणाली’को शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’ कार्यक्रमको सुरुवात गरेका छन् । प्रधानमन्त्रीले आज मीन भवनस्थित नापी विभागको कार्यालयमा कार्यक्रम सुरू गरेका हुन् ।

सरकारले एक पछि अर्को नयाँ काम सफलतापूर्वक गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीका लागि यी सबै काम सरकारले गरिरहेको उनले बताए । हरेक क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोग गर्दै इतिहास झल्किने काम गर्नुपर्ने उनले चर्चा गरे ।

डिजिटल सोइल म्यापिङको काम दक्षिण एसियामा नेपालले पहिलो पटक प्रयोग गरेको चर्चा गर्दै उनले भने, “सायद यो कित्ता प्रणालीको शुभारम्भ पनि हामीले दक्षिण एशियामा पहिलो पटक गरिरहेका छौं ।” उत्पादन र उत्पादकत्व गर्ने कुरामा यसको दूरगामी महत्व रहेको उनले चर्चा गरे । झ्वाट्ट हेर्दा यो कृषि, उत्पादन र उत्पादकत्वसँग, किसानसँग सम्बन्धित देखिए पनि यो अन्य पक्षसँग पनि सम्बन्धित छ उनले भने ।

नयाँ सोच र संकल्पकासाथ सरकार अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले मेरो कित्ता प्रणालीजस्ता कार्यक्रमले देशको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । यस्तो कार्यक्रमले नेपाली हुनुमा गर्व गराउने वातावरण बनाउने उनले बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाङफेले नेपाललाई डिजिटल नेपाल बनाउने अभियानमा कित्ता प्रणाली अगाडि बढाइएको बताए । जनताको सेवालाई चुस्त र दुरुस्त बनाउन सरकारले यस्तो कार्यक्रम ल्याएको उनले चर्चा गरे । कामलाई चुस्त बनाउँदै जनताको सेवामा सरकारले ध्यान दिइरहेको उनले बताइन् ।

 

उक्त व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन मालपोत कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ ।

‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर उक्त सेवा लिन सकिने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए । सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन उक्त सेवा सुरु गरिएको उनले बताए ।

सूचना अधिकारी ढकालका अनुसार आज उक्त सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुनेछ । त्यसपछि एक हप्ताभित्र काठमाडौं उपत्यकाभरी र क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुने विभागले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत