वातावरण

काठमाडौं फेरि विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर, स्वास्थ्यका लागि जोखिमपूर्ण

काठमाडाैं । काठमाडौं उपत्यका आज धुम्म देखिएको छ । प्रदूषित वायुको कण र देशका विभिन्न स्थानमा लागेको डढेलोको धुँवा उपत्यकाको आकाशमा थुप्रिदा धुम्म भएको मौसमविद् बताउँछन् ।

विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौँ फेरि एक नम्बरमा पुगेको छ ।

प्रदूषण बढेको भन्दै सरकारले यही चैत्र १८ देखि २१ गतेसम्म ४ दिनसम्म विद्यालय बन्दसमेत गरेको थियो । यो बीचमा वर्षा भएको तथा हावा चलेर केही खुलेको काठमाडौँ उपत्यका फेरि प्रदूषित बनेको हो ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार बिहान साढे ८ बजेको मापनमा सबैभन्दा धेरै प्रदूषण धादिङको एयर क्वालिटी इन्डेक्स (एक्यूआई)  ३४४  छ ।

तर काठमाडौं उपत्यका भक्तपुर, रत्नपार्क, भैँसेपाटीलगायतको क्षेत्रको एक्यूआई २ सयभन्दा कम छ ।

सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ । यसआधारमा काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरमा परेको छ ।

आइक्यू एअरको बिहान ८:४० बजेको अपडेट अनुसार काठमाडौँको वायुमण्डलमा एअर क्वालिटी इन्डेक्स एक्यूआई) २३३ पुगेको छ ।

हावामा प्रदूषणको मात्राले खतराको तह नाघेर २०० माथि नाघ्दा बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविदले बताएका छन् ।

प्रदूषण बढेपछि काठमाडौंमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

 अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत