प्रतिनिधि सभा

संसदमा बेराेजगारी, एमसीसीदेखि चुच्चे नक्सा र विकासको मूल फुटेको कवितासम्म

काठमाडाैं । प्रतिनिधि सभाको साेमवारकाे बैठकमा सांसदहरूले विभिन्न विषयमा सरकारकाे ध्यानाकर्षण गराएका छन् । 

बैठकको शून्य समयमा बोल्दै सांसदहरूले राष्ट्रिय सहमतिको सरकारकाे माग, कोभिड–१९ का कारण देशकाे रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेशन (एमसीसी) लाई संसदमा बहसमा ल्याउनपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन् । गिरिले संविधान बचाउनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए । 

उनले भने, ‘आज म सबैभन्दा पहिले यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्न चाहन्छु । जालझेल गरेर सकुनीले पासा फ्याँके जस्तो गरेर, दुवारा पासा फ्याँकेर, सकुनीले दुई पटक पासा फ्याँकेका थिए । एक पटकको पासालाई द्रौपदीको प्रतिउत्तर निरस्त्र गरेको थियो । दुवारा पासा फ्याँकेर फेरि पाण्डवलाई जङ्गल पठाए जस्तो संसद् विघटन गर्ने दिशामा कृपया नगइदिनोस् ।’ 

सांसद गगनकुमार थापाले कोभिड–१९ का कारण वैदेशिक तथा देशकाे उद्योग क्षेत्रमा धेरैले रोजगारी गुमाएको भए पनि पुनर्स्थापनाका बारेमा सरकारले प्रभावकारी काम गर्न नसेकेको आरोप लगाए । 

कांग्रेसकी नतृ पुष्पा भुसाल गौतमले सरकारसँग चुच्चे नक्साबारे प्रस्ट पार्न माग गरेकी छन् । उनले राष्ट्रियता देखाउने र चुच्चे नक्सा हराउने अचम्मको भूमिकामा सरकार देखिएको बताइन् ।

एमाले सांसद खगराज अधिकारीले एमसीसी कहिलेसम्म संसदमा विचाराधीन अवस्थामा रहने भन्दै तुरुन्त संसदमा बहसको विषय बनाउन माग गरे ।

सांसद अञ्जना विशङ्खेले राज्य लोककल्याणकारी बनाउन राज्यका निकायलाई स्वायत्त रूपमा काम गर्न दिनुपर्ने बताइन् ।

अर्का सांसद अनिलकुमार झाले सामाजिक सुरक्षा भत्तालाई सहज र सुलभ बनाउन समस्याका रूपमा रहेको नवीकरणको व्यवस्थालाई सहजीकरण गनुपर्नेमा जोड दिए ।

सांसद उमा रेग्मीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता पाँच हजार बनाइदिने आश्वासन दिने सरकारले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न माग गरे ।

सांसद कृष्णबहादुर राईले अधिकार सम्पन्न एकीकृत वाग्मती समितिको प्रमुखमा धेरै व्यक्ति परिवर्तन भए पनि उद्देश्यअनुसार काम हुन नसकेको बताए । 

सांसद खेमप्रसाद लोहनीले वर्तमान सरकारले विकास निर्माणमा तीव्ररूपमा काम गरिरहेको भन्दै सरकारलाई धन्यवाद दिए ।

सांसद गङ्गा चौधरी सत्गौवाले राष्ट्र निर्माणका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखिन् ।

सांसद घनश्याम खतिवडाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने तर सरकारको राजीनामा माग्ने कुरा उचित नभएको बताए ।

सांसद चाँदतारा कुमारीले प्रतिनिधि सभा फेरि विघटन हुने आशङ्काले सांसदहरू नै हतोत्साही अवस्थामा रहेको धारणा व्यक्त गरे ।

अर्का सांसद छक्कबहादुर लामाले सडक सञ्जालले नछाेएको एकमात्र जिल्ला हुम्लामा भोकमरी हुन नदिन हवाई माध्यमद्वारा खाद्यान्न ढुवानी बढाउन सरकारसँग माग गरे ।

सांसद अञ्जना विशंखेले लोक कल्याणकारी र जनपक्षीय बनाउन राज्यका हरेक निकायलाई संस्थागत रुपमा राज्य चल्न दिनुपर्ने बताइन् । ‘चाहे राष्ट्रपतिले होस् चाहे प्रधानमन्त्रीले होस्, जसले गल्ती गर्छ स्वायत्त संस्थाले गल्ती गर्नेलाई दण्ड दिनुपर्छ’, उनले भनिन्, ‘तर बिडम्बना यतिबेला सेटिङका आधारमा हरेक कुराहरु निर्णय गरिन्छ । चाहे निर्वाचन आयोग होस् चाहे त्यो सर्वोच्च अदालतका पार्टीसम्बन्धी फैसला होस् ।’

सांसद गजेन्द्रबहादुर महतले विकासको र समृद्धि देखाएर नुन, तेल, चामल, जनताको ढाड सेकिएको, पार्टीभित्र झगडा देखाएर संसदको ढाडै भाँडिएको बताउँदै राष्ट्रवादको नारा लगाएर चुच्चे नक्सा समेत गायब पारि सकिएको आरोप लगाए ।

सांसद अनिलकुमार झाले सामाजिक सुरक्षा भत्ता अपांग, जेष्ठ नागरिक, दलित लगायतले पाए पनि त्यो सहज ढंगले नपाएको भन्दै दुःखेसो पोखे । उनले रोजगारीको खोजीमा गएका हुन् वा विभिन्न कामले बाहिर भएकाहरुलाई नवीकरणको व्यवस्था सहज बनाउन आग्रह गरे । 

सांसद् इन्दुकुमारी शर्मा शर्माले पनि कविता वाचन गरिन् । उनले भनिन् 'बालुवाटारबाटै विकासको मूल फुटेको सुनेर मेरो पनि आज जोश जाग्यो ।'

गाउँ सहर संवाददाता

तपाईँको मत