दिगोविकास

तीन दलकाे बैठक : सत्ता समीकरणका लागि गठबन्धनबारे खुलेर गफ, निर्णय भएन

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सकिएकाे छ । 

बैठकमा देउवाले आफ्नो पार्टीले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) समक्ष राखेका छन् ।

माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे छलफल गर्न समय मागेकाले शुक्रबारको बैठकमा कुनै सहमति भएन ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा जसपाले पार्टीमा छलफल गर्न समय माग गरेको बताए ।

उनले भने,‘नयाँ सरकार गठनमा छलफल गरौं भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव राख्नुभयो । जुन सरकार भए पनि चुनाव गराउने भएपनि केपी ओलीले सबै कब्जा गर्न खोजे । अब कांग्रेसको नेतृत्वमा सरकार बनाउँ भनेर सभापति देउवाले प्रस्ताव गर्नुभयो । जसपाका नेताहरूले केही समय चाहिन्छ भन्नुभएको छ,’ उनले भने, ‘पार्टीमा छलफल गरेको छैन भन्नुभएको छ। जसपाको बैठक गरी निर्णय गर्न समय माग गर्नुभएको छ । अर्को बैठक बस्ने गरी सहमतिपूर्वक बैठक टुंगिएको छ ।’

जनता समाजवादी पार्टीले कांग्रेसको प्रस्तावबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएपछि बैठकमा कुनै ठोस सहमति हुन सकेन ।

तीन दलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवासँगै उपसभापति विमलेन्द्र नीधि लगायतक नेताहरु सहभागी थिए । यसैगरी माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अन्य नेताहरु सहभागी थिए भने जसपाका तर्फबाट डाक्टर बाबराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरु उपस्थित भएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत