गाउँ सहर

सुनापति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा श्रेष्ठ, पूर्वाधार, सामाजिक र आर्थिक विकास प्राथमिकता

रामेछाप । रामेछापकाे सुनापति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले शुक्रबार कार्यभार सम्हालेका छन् । 

यसअघिका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले संस्कृति प्रर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरूवा भएपछि साेही मन्त्रालयमा कार्यरत श्रेष्ठ उक्त गाउँपालिकामा सरूवा भएका हुन् । 

गाउँपालिकाले एक कार्यक्रम गरि राममणि काफ्लेलाई बिदाई तथा श्रेष्ठकाे स्वागत गरेकाे छ । 

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई गाउँपालिका अध्यक्ष धावा लामा, उपाध्यक्ष गीता बिष्ट, वडाध्यक्षहरू बाबुराम तामाङ, चण्डेश्वर चौलागाईं लगायत अन्य पधाधिकारीहरु, कर्मचारी तथा स्थानीयबासीहरुले स्वागत तथा शुभकामना दिएका छन् ।

काफ्लेलाई मायाकाे चिनाेसहित गाउँपालिकाले बिदाई गरेकाे छ । 

प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा गएका श्रेष्ठ साेही गाउँपालिकाकाे वडा नम्बर तीन हिलेदेवी निवासी हुन् । उनी स्थानीबासीमाझ पनि स्वच्छ छविका मिहिनेती, इमान्दार, अनुभवी मानिन्छन् ।

कार्यभार सम्हाल्दै श्रेष्ठले गाउँपालिकामा पूर्वाधार विकास, सामाजिक विकास र आर्थिक विकासलाई प्राथमिकता दिएर कार्य गर्ने  बताए ।

उनले भने, "सुनापतिबासीको माग र चाहना बमोजिमका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर काम गरिने छ । पूर्बाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, कृषि, पशु, वन, सुशासन, सेवा प्रवाह, लगायतका क्षेत्रलाई प्राथमिकता दिईने छ ।" 

उनले विकास निर्माण र सेवा प्रवाहका कामलाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि आवश्यक कार्य गरिने पनि बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत