वातावरण

काठमाडौं अहिले पनि विश्वकै प्रदूषित सहर, आँखा र श्वासप्रश्वासका बिरामी बढ्न थाले

काठमाडौं । काठमाडौं अहिले पनि विश्वको सबैभन्दा बढी प्रदूषित सहर बनेको छ । वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने स्वीट्जरल्याण्डको आइक्युएयर वेबसाइटका अनुसार काठमाडौंमा आज बिहान वायु प्रदूषणको मात्रा २६८ एक्युआई रहेको छ।

हिजो दिउँसो काठमाडौंको प्रदूषण झण्डै साढे ३०० एक्युआई पुगेको थियो । काठमाडौं तीन दिनदेखि लगातार विश्वको सबैभन्दा प्रदूषित सहरको नम्बर १ सूचीमा रहँदै आएको छ ।

काठमाडाैंसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको र तत्काल सुधार हुने सम्भावना नदेखिएको वातावरण विभागले जनाएको छ ।

वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जन-स्वास्थ्यविद्ले आग्रह गरेका छन् । काठमाडाैंसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमल्लिएको छ । गर्मी बढेको तर पानी नपरेकोले सुक्खापन धेरै हुँदा देशका विभिन्न जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएको विज्ञहरूले बताउँदै आएका छन् ।

वायु प्रदूषणसँगै आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् ।

प्रदूषणको मात्रा २०० देखि ३०० सम्म एक्युआई पुग्नुलाई अत्यन्त अस्वस्थकर मानिन्छ । त्यसभन्दा माथिको अवस्थालाई घातक मानिन्छ । हिजो दिउँसो प्रदूषणको मात्रा घातक अवस्थामा पुगेकोमा आज बिहान केही घटेको हो । ठूलो वर्षा भएपछि मात्रै प्रदूषणको मात्रा नियन्त्रण भएर स्वस्थ हावा चल्ने विज्ञहरुले बताएका छन् ।

काठमाडौंपछि चीनको बेइजिङ सहर दोस्रो प्रदूषित र बंगलादेशको ढाका तेस्रो प्रदूषित सहरमा परेका छन् । ती दुई सहरको प्रदूषणको मात्रा १६५ र १६० एक्युआई रहेको छ । हिजो अत्यधिक प्रदूषित रहेका नेपालका अन्य सहरमा आज प्रदूषणको मात्रा घट्दै गरेको पाइएको छ ।

अहिले पनि झण्डै डेढ सय ठाउँमा आगलागी भइरहेको वन तथा भू संरक्षण विभाग अन्तर्गतको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । सबैधन्दा धेरै डोटीमा १३ ठाउँमा र प्युठानमा १० ठाउँमा डढेलो लागेको छ ।

यसैबीच, अहिले तराई र पहाडी भूभागका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । धेरैजसो ठाउँमा तुवाँलो लागेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने र हिमपातकोसमेत सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत