राजनीति

माओवादीद्वारा बादलबाहेक चार मन्त्रीलाई कारबाही, सांसदबाट निष्कासित (पत्रसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गरेको निर्णय संघीय संसद् सचिवालयमा बुझाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् । राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भने कारबाही गरिएको छैन ।

प्रचण्डले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको र केन्दीय सदस्य पद स्वीकार गरेकाले कारबाही गरेको उल्लेख गरेका छन् ।

उनीहरुले दलको विधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व जानाजान उल्लङ्घन गरेको भन्दै माओवादी केन्द्रले गत चैत १ गते स्पष्टीकरण माग गर्दै सरकारबाट फिर्ता आउन निर्देशन दिएको थियो ।

माओवादी केन्द्रको चैत १ र २ गतेको केन्द्रीय समितिको निर्णयले प्रत्यायोजित गरेको अधिकार अनुसार अध्यक्ष प्रचण्डले मंगलबार उनीहरुले दल त्याग गरेको ठहर गरी साधारण सदस्य पनि नरहने गरी निश्कासन गरेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत