गाउँ सहर

गैंडा गणनामा संलग्न माउतेकाे ज्यान लिने बाघ नियन्त्रणमा, काठमाडाैं ल्याउने तयारी

काठमाडौं । बर्दियामा गैँडा गणनामा संलग्न माउतेलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई आइतबार राती नियन्त्रणमा लिइएको छ ।

आइतवार साँझ बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको गैँडा मचान नजिकै गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई राती नै नियन्त्रणमा लिइएको जानकारी निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले दिए ।

उनका अनुसार माउते चौधरी र उनीसँग रहेको हात्तीमाथि साँझ ५ः३० बजेतिर बाघले आक्रमण गरेको थियो । तत्काल गणना टोलीले उद्धार गर्दा करिब सात सय मिटर झाडीसम्म लछारेर माउते चौधरीलाई बाघले छाडेर जंगलतर्फ भागेको थियो ।

अहिले सो बाघलाई ठाकुरद्धारास्थित उद्धार केन्द्रमा राखिएको छ । नियन्त्रणमा लिइएको यो बाघलाई सोमवार नै काठमाडौँ ल्याइने तयारी भइरहेको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जले आइतवार राती नै एक सूचना जारी गरी सोमवार निकुञ्जभित्र हुने पर्यटकीय गतिविधि पूर्ण रुपले बन्द गरेको जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत