गाउँ सहर

बाँकेको नरैनापुरमा आगलागीबाट सय भन्दा धेरै घरगोठ जलेर खरानी

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदावा गाउँमा शनिवार दिउँसो आगलागि हुँदा करिब सय घर जलेर खरानी भएका छन् भने आगलागीबाट ठूलो क्षति भएको छ ।

नरैनापुर गाउँपालिका-४ खोदाबामा भएको आगलागीबाट एक सय २० भन्दा धेरै घरगोठ जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

दिउँसो लागेको आगो नरैनापुर, नेपालगञ्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँच वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले साँझ मात्रै नियन्त्रणमा लिएका थिए ।

आगलागीमा घाइते भएका तीन जना महिलाको नेपालगञ्जमा उपचार भइरहेको छ । अहिले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहितको टोलीले घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत वितरणको काम गरिरहेका छन् ।

विभिन्न निकायसँगको समन्वयमा आज रातिको लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र भोलि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहतका थप प्याकेज ल्याउने पनि प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

खरले छाएका र एकआपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीले आगो नियन्त्रणमा लिन निकै मुश्किल परेको थियो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत