राजनीति

बीपी विचार राष्ट्रिय समाजको भेलामा कांग्रेसकाे चिन्ता (तस्बिर-कथा)

काठमाडौं । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर पार्टीका सबै तह र तप्काका व्यक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बिपी विचार राष्ट्रिय समाजको तेस्रो साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उनले देशको राजनीतिक वातावरण बिग्रदै गएकामा चिन्ता व्यक्त गरे ।

‘राजनीतिलाई पेशा बनाइएको छ, त्यसबाट प्राप्त शक्ति, सम्मान र मर्यादालाई व्यक्तिगत वा समूहगत स्वार्थमा प्रयोग गरिदैछ’, बीपी कोइरालाले देखाएको बाटोलाई बेवास्ता गरेकाहरुप्रति इङ्गित गर्दै समाजका अध्यक्षसमेत रहेका गुरुङले भने ।

बीपी कोइरालाका अनुयायीले देश र जनताका निम्ति निष्ठाका साथ काम गर्नुपर्ने जनाउँदै राष्ट्रियताको अडान नत्याग्ने बिपीको सिद्धान्तको पालना गर्न पार्टीका सबै तहका कार्यकर्तालाई आग्रह गरे ।

पूर्वसभामुख तारानाथ रानाभाटले बिपी कोइरालाले प्रतिपादन गरेको राजनीतिक विचार र सिद्धान्तलाई सत्ता स्वार्थमा लागेर परित्याग गरेका कारण नेपाली कांग्रेस दिशाहीन हुँदै गएकामा खेद प्रकट गरे ।

समाजका सहसभापति गोविन्दराज जोशीले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको स्थायित्व, आर्थिक उन्नति र जनताको जीवनस्तर उठाउने गुरुत्तर दायित्व बोकेको नेपाली कांग्रेस विखण्डित भएको बताए ।

संवैधानिक कानूनका जानकार भीमार्जुन आचार्यले लोकतान्त्रिक संस्था र तिनका संरचनालाई सुदृढ तुल्याउन नेपाली कांग्रेसमात्र नभई सम्पूर्ण नेपाली जनताले आवाज उठाउन जरुरी भएको विचार व्यक्त गरे । उनले यति बेला कांग्रेस सत्तामा गयाे भने प्रधानमन्त्री केपी ओलीले सत्तामा रहँदा गरेका सम्पूर्ण अलाेकतान्त्रिक र अवैध कामकाे जिम्मा पनि बाेक्नुपर्ने भएकाले नजान सुझाव दिए ।

दार्चुला, डडेल्धुरा, मनाङ, मुस्ताङ, भक्तपुर र तेह्रथुमबाहेक सातै प्रदेशका ७१ जिल्लामा विस्तार भएको समाजको दुईदिने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार समापन हुनेछ  । 

गाउँ सहर संवाददाता

तपाईँको मत