दिगोविकास

मेलम्चीकाे पानी : कृष्णप्रसाद भट्टराईकाे भाषणदेखि राष्ट्रपति भण्डारीद्वारा उद्घाटनसम्म

काठमाडाैं । चैत २० गते शुक्रबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार भृकुटीमण्डपमा धारा खोलेर मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रम‍ उद्घाटन गरेकी छन् ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४८ को चुनाव प्रचारका क्रममा बानेश्वरमा भाषण गर्दै ‘म मेलम्चीको पानी ल्याएर सडक पखाल्छु’ भनेका थिए । भट्टराईकै त्यही भाषणपछि चर्चामा आएको थियो ।

आयोजना सुरु भएको करिब २२ वर्षमा पानी काठमाण्डू आइपुगेको छ । वर्षौँदेखि काठमाडाैं उपत्यकावासीले बेहोरेको सङ्कट मेलम्चीकाे पानीले केही राहत मिलेकाे छ । 

राष्ट्रिय गौरवको मेलम्ची आयोजनाकाे शुरूवातीदेखि अहिलेसम्मकाे केही तथ्यगत घटनाक्रम हेराैं:

  • विसं २०२९: खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
  • विसं २०४१: मेलम्चीसहित २२ विकल्प पहिचान
  • विसं २०४९: याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
  • विसं २०५५: मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
  • झन्डै २७ किलोमिटर लामो सुरुङ निर्माण
  • रु ३५ अर्बभन्दा बढी कुल आयोजना खर्च (३३ प्रतिशत नेपाल सरकार, ४६ प्रतिशत एशियाली विकास ब्याङ्क, बाँकी अन्य दातृसंस्था: जाइका, नोर्डिक सहायता कोष र ओपेक, मुआब्जा खर्च (आर्थिक वर्ष २०७५/७६ सम्म): १ अर्ब १२ करोड रुपैयाँ तथा सामाजिक उत्थानमा खर्च: झन्डै ९५ करोड रुपैयाँ)

  • विसं २०७७ असार २१: सुरुङको पहिलो परीक्षण तर ३१ गते दुर्घटना भएपछि स्थगित

  • विसं २०७७ फागुन १०: सुरुङमा पानी प्रवाह गरी परीक्षण सुरु
  • विसं २०७७ फागुन २२: मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
  • विसं २०७७ चैत १५: मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
  • विसं २०७७ चैत २०: राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन
  • पानीको कुल परिमाण: अहिले दैनिक ८.५ करोड लिटर पानी वितरण चाँडै पूर्ण क्षमतानुरूप १७ करोड लिटर पानी वितरण, मेलम्चीको १७ करोडमा याङ्ग्री र लार्केको पनि १७/१७ करोड लिटर जोडेर कुल दैनिक ५१ करोड लिटर पानी आपूर्ति गर्ने योजना 

गाउँ सहर डेस्क

तपाईँको मत