गाउँ सहर

म्यानमारमा भइरहेको हत्या र दमनकाे बिराेधमा राष्ट्रसंघ नेपाल कार्यालय अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडाैं । म्यानमारमा जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई  रोक्न संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरिएकाे छ । 

मानवअधिकार तथा शान्ति समाजले म्यानमारमा भैरहेको हत्या र दमन बन्द गर्नका लागि आह्वान गर्दै ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेको छ । मंगलबार समाजले म्यानमारमा भैरहेको हत्या र दमन बन्द गर्नका लागि आह्वान गर्दै प्रदर्शन गरेको हो । त्यस्तै समाजले त्यहाँ भैरहेको हत्या र दमन बन्द गर्न राष्ट्रसंघलाई प्रभावकारी कदम चाल्न समेत आग्रह गरेको छ । समाजले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघ समक्ष आग्रह गरेको हो ।  

प्रदर्शनकारीले म्यानमार सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, समाजका सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, दुर्गा राना मगर (लक्ष्मी), उमा गौतम, सहित ५५ भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । 

समाजका सभापति गोविन्द खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘ म्यानमारमा जारी हत्या र दमन तत्काल अन्त्य हुनुपर्छ र शिघ्र लोकतन्त्र बहाली हुनुपर्छ भन्ने आग्रहसहित यसअघि पनि मानवअधिकार तथा शान्ति समाजले नेपालस्थित म्यानमार दूतावास अगाडि विरोध प्रदर्शन गरिसकेको छ । मानवअधिकार तथा शान्ति समाज म्यानमारको सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमनलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई आग्रह गर्दछ ।’  म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेयता भएका प्रदर्शनमा ४ सय बढी प्रदर्शनकारीको मृत्यु भैसकेको छ । म्यानमारको सैनिक सत्ताले गरेको दमनको विश्वभर आलोचना भैरहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत