खेल

नेपाल बन्याे थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको च्याम्पियन

काठमाडौं । नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि उचालेकाे हाे । 

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो । उक्त हारको बदला समेत नेपालले पुरा गरेको छ । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ ।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन संजोक राई र विशाल राई 'बी' ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए  ।

खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । मिडफिल्डर संजोकको यो डेब्यु गोल हो । संजोकले शनिबार बंगलादेशसँगको खेलमै राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए ।

यस गोलसँगै नेपालको गोलको खडेरी अन्त्य भएको छ  । नेपाल पछिल्लो ७ खेलमा गोलविहिन रहेको थियो ।

खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा बंगलादेशका रहमानले गोल गरेपनि नेपाल २-१ ले विजयी भयो । जमल भुयाको  कर्नर बलमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले उत्कृष्ट हेड गोल गरे ।

बिराजको सन्यास
लामो समयपछि नेपालको राष्ट्रिय प्रतियोगितामा पुनरागमन गरेका बिराज महर्जन खेल सकिन एक मिनेट मात्रै बाँकी रहँदा मैदानमा उत्रिए । सबैभन्दा बढी अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व गरेका बिराजको यो अन्तिम अन्तर्राष्ट्रिय स्पर्धा हुन पुग्यो । बिराजले नेपालका लागि ७४ अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएर फुटबल जिवनबाट सन्यास लिएका हुन् ।

रोहित थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी

रोहित चन्द थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका  छन् । नेपाललाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका रोहित सर्वोत्कृष्ट चुनिएका हुन् । सर्वोत्कृष्ट खेलाडी बनेका रोहितले ५ सय डलर प्राप्त गरे ।

चार खेलाडीको डेब्यु
थ्री नेशन्स कप प्रतियोगितामै नेपालका चार जना खेलाडीले अन्तर्राष्ट्रिय स्पर्धामा डेब्यु गरेका छन् । सञ्जोग राई र त्रिदेब गुरुङ पहिलो रोजाईमा पर्दै डेब्यु गरेका थिए । दुबैजनाले किर्गिस्तान बिरुद्धकै खेलमा डेब्यु गरेका थिए । निशान खड्का भने बङ्गलादेश बिरुद्धको खेलबाट नेपालको राष्ट्रिय फुटबल टोलीको पहिलो पटक प्रतिनिधित्व गरे । फाइनलमा छिरिङ्ग गुरुङ्गले ८१ औं मिनेटमा विशाल राईलाई बिस्थापित गर्दा यसै प्रतियोगितामा डेब्यु गर्ने उनी चौथो खेलाडी बने ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत