गाउँ सहर

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ ।

राति आठ बजेर २४ मिनेट जाँदा अस्पतालले उनको निधन भएको घोषणा गरेको जोशीको परिवारले पुष्टि गरेको छ ।

मस्तिष्कघात भएपछि काठमाडौं नर्भिक अस्पतालमा उपचाररत जोशीको निधन भएको अस्पतालका अधिकारीहरूले पनि पुष्टि गरेका छन् ।

५७ वर्षीय जोशीलाई फागुन १३ गते मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । एक महिनादेखि उपचाररत जोशीको स्वास्थ्यमा खासै सुधार आएको थिएन ।

संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित जोशी काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर हुन् । २०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा लागेका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हालेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका जोशीका बिभिन्न पत्रपत्रिकामा राजनीतिक लेखरचना प्रकाशित हुँदै आएका छन् । उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष पनि थिए ।  

नेता जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । कांग्रेसले एक निष्ठावान नेता गुमाएको सभापति देउवाले उल्लेख गरेका छन् ।

देउवाले भनेका छन्, 'नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।'

यसैबीच नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ । भोलि शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

त्यस्तै, कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकसमेत डाकेको छ । कांग्रेसले नेता जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्न शनिबारका लागि बैठक डाकेको हो । बैठक बिहान साढे ९ बजे बस्ने प्रवक्ता शर्माले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत