अर्थतन्त्र

बैंकहरुको कुल निक्षेप ३८ खर्ब ४० अर्ब रुपैयाँ, कर्जा भने ३४ खर्ब ३५ अर्ब

काठमाडाैँ । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह २३ अर्ब रुपैयाँले वृद्धि भएको छ । कर्जा लगानीमा बैंकहरु आक्रामक भएकाले पछिल्लो समयमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह उच्च देखिएकाे छ ।

नेपाल बैंकर्स संघका अनुसार चैत ६ गतेसम्ममा बैंकहरुको कुल निक्षेप ३८ खर्ब ४० अर्ब रुपैयाँ र कर्जा भने ३४ खर्ब ३५ अर्ब पुगेको छ ।

फाल्गुण महिनाभरमा बैंकहरुको निक्षेप ४० अर्बले वृद्धि भएको छ । यस अवधिमा बैंकहरुको कर्जा भने ९५ अर्ब बढेको छ । कोभिड–१९ को महामारी कम भएसँगै आर्थिक गतिविधि बढ्दै गएकाले बैंकहरुको लगानी पनि वृद्धि भइरहेको छ । तर, कर्जा वृद्धिको तुलनामा निक्षेप वृद्धि कम हुँदा बैंकहरुमा तरलता समेत घट्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको माघसम्मको वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनमा बैंकहरुको कर्जा अनुत्पादनशिल क्षेत्रमा बढेको औँल्याएको छ । कोभिडको प्रभावले नयाँ उद्योग स्थापना नभएको र पुराना उद्योग पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेकाले बैंकहरुले छोटो अवधिका कर्जामा जोड दिएका छन् ।

प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरेको कर्जामध्ये आवधिक कर्जा १३.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १६.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५३.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १८.२ प्रतिशतले बढेको उल्लेख गरिएको छ । यसैगरी अवधिमा सवारी साधान खरिदका लागि प्रवाह हुने हायर पर्चेज कर्जा भने ५.९ प्रतिशतले घटेको छ राष्ट्र बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत