खेल

त्रिदेशीय फुटबल प्रतियोगितामा आज नेपालले किर्गिस्तानसँग खेल्दै, दर्शकका लागि मास्क र स्यानिटाइजर अनिवार्य

फाइल : तस्बिर

काठमाडाैं । त्रिदेशीय फुटबल प्रतियोगितामा आज नेपालले किर्गिस्तानसँग खेल्दै छ ।

मंगलबार भएको खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो । प्रतियोगिताका लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टोलीमा नवयुग श्रेष्ठ परेका छैनन् ।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र दीप कार्की रहेका छन् ।  यस्तै डिफेन्डरमा रञ्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ छन् । मिडफिल्डरमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल र रवि शंकर पासवान परेका छन् ।

फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ,अभिषेक रिजाल र भरत खवास रहेका छन् । नेपालले आउँदो शनिवार बंगलादेशसँग खेल्दैछ । यसैबीच, प्रतियोगिता हेर्न जाने दर्शकका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । एन्फाले विज्ञप्ति निकालेर त्रिदेशीय फुटबल हेर्न दर्शकलाई मास्क र स्यानिटाइजर अनिवार्य गरेको जनाएको छ ।

कोरोनाको खतरा देखिएको भन्दै एन्फाले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार मास्क र स्यानिटाइजर अनिवार्य गरिएको जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत