गाउँ सहर

लकडाउनकाे एक वर्ष : कोरोना सङ्क्रमणको जाेखिम झन् थपियाे, हेलचेक्र्याइँ उस्तै

काठमाडौं । कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी (लकडाउन) गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनाभन्दा बढी समय लकडाउन कायम रहेको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै भदौबाट मात्र नेपालमा केही सहज अवस्था भएको हो ।

विश्वका देशमा लकडाउन खुकुलो बनाएपछि नेपालले पनि  गत साउन ६ देखि लकडाउन हटाएको थियो । लकडाउन हटेपछि बजार‚ पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर घट्दै पनि गयो । तर, छिमेकी मुलुक रतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा फेरि कोरोनाको जोखिम पहिलाको जस्तै हुने खतरा बढेको छ । लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ ।

लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै नेपालमा कोरोनाको दोस्रो लहर आएको अनुमान लगाउन थालिएको छ । दैनिक ५०/५५ जना सीमित सङ्क्रमित ह्वात्तै बढेर १८८ जनासम्म पुगेको छ । मङ्गलबार मात्र १८८ जना नयाँ सङ्क्रमित थपिएका छन् । केही दिन पहिलेसम्म यो सङ्ख्या सयभन्दा कम सङ्ख्यामा थियो । यसबाट नेपालमा सङ्क्रमण बढ्न सक्ने देखाएको छ ।

भारतसँगको खुला सिमाना भएका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अस्पतालमा केही दिनअघिसम्म एक/दुई जना मात्र कोरोना सङ्क्रमितका बिरामी हुने गरेकोमा हाल सात जना भर्ना भइसकेको जानकारी दिए । सात जनामध्ये पाँच जना आईसीयू तथा दुई जना आइसोलेसन वार्डमा उपचाररत छन् ।

सातदेखि १० प्रतिशत रहेका सङ्क्रमित मङ्गलबारसम्म आइपुग्दा २० प्रतिशतमा वृद्धि भएको जानकारी दिँदै डा. राजभण्डारीले पछिल्लो समय मानिसले कोरोनालाई बेवास्ता गर्न थालेको बताए ।

सभा, सम्मेलन, धर्ना, जुलुस, जमघटजस्ता कार्य गर्न बन्द गर्नुपर्ने बताउँदै निर्देशक डा. राजभण्डारीले नागरिक आफैँ सचेत बन्नुपर्नेमा जोड दिए । सबैले आ–आफ्नो ठाउँबाट लाग्न सके कोरोनालाई परास्त गर्न सकिने उनले बताए ।

भारतसँगको खुला सीमा नाकाका कारण पनि नेपालमा कोरोना संक्रमणको उच्च जोखिम बढेको विज्ञहरु बताउँछन्। भारतमा संक्रमणदर बढेपछि त्यहाँ कार्यरत नेपालीहरु घर फर्किने क्रम बढेको छ । फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने देखिन्छ। उनीहरुको नाकामा नै स्वास्थ्य परीक्षण नगरिए जोखिम झन् बढ्दै जाने छ । सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानी बढाएको छ।

भारतमा संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ ।

लकडाउन भएको एक वर्ष पूरा भएको दिन आज सरकारले यसको समीक्षा गर्दैछ । यस विषयमा छलफल गर्न दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्दैछ । 

गाउँ सहर संवाददाता

तपाईँको मत