खेल

त्रिदेशीय अन्तराष्ट्रिय फुटबलमा प्रतियाेगितामा बंगलादेशकाे विजयी सुरुवात

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबलमा प्रतियाेगितामा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार किर्गिस्तानको यू-२३ टिमलाई १-० ले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

यससँगै बंगलादेशले पहिलो पटक किर्गिस्तानको उमेर समूहको टिमलाई हराउँन सफल भएको छ । यस अघि दुई देशको राष्ट्रिय टिमबीच भएको चार भेटमा भने किर्गिस्तानले जित हासिल गरेको थियो । जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक जोडेको छ । र, फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

बंगलादेशको जितमा आत्मघाती गोल निर्णायक बन्यो । किर्गिस्तानको कुमारवज उलु बैमानले आत्मघाती गोल गरे । खेलको ३० औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे ।

खेलको इन्जुरी समयमा किर्गिस्तानले गोलको अवसर पाएको थियो । तर, टासेभ कामुलिद्दीनले पोस्ट नजिकबाट फ्री हेडमा गोल गर्न सकेनन् । उनको प्रहार आकाशिएको थियो ।  खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच चुनिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको त्रिदेशीय कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको छ ।

नेपालले पहिलो खेलमा बिहीबार किर्गिस्तानसँग खेल्नेछ ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत