गाउँ सहर

सामान्य कुरा ख्याल नगर्दा असुरक्षित छ तपाईंकाे भान्सा

काठमाडाैं । खाना पकाउने ग्यासको उपभोग वर्षेनी बढ्दै गएसँगै त्यो पड्किने घटना समेत बढ्दै गएको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरस्थित भीमेश्वर म:म एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भए । उनीहरुकाे उपचार भइरहेकाे छ । त्यस्ता घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायका बारेमा भने आम उपभोक्तामा चेतनाको कमी देखिन्छ ।

आयल निगम र नाप तौल विभागले आफ्नो घरको सिलिण्डरको सुरक्षाबारे उपभोक्ता जानकार हुन केही टिप्स दिएका छन् ।

ग्यास उद्योगमा उत्पादनकै समयमा ग्यासलाई सुरक्षित बनाउन भएका प्रयासमा केही कमजोरी रहे त्यसबाट हुने क्षति रोक्न उपभोक्ताको भूमिका महत्वपूर्ण हुने अधिकारीहरु बताउँछन् ।

सिलिण्डर कसरी सुरक्षित गराउने ?

आयल निगमका अधिकारीहरुले दिएको टिप्सअनुसार भान्सामा ग्यासको जोखिम कम गर्ने उपाय यस्ता छन् :-

डिलरबाट ल्याउँदा वा लैजाँदा सिलिण्डर कुनै पनि अवस्थामा नगुडाउने ।
डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्ने ।
भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्ने ।
कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग नगर्ने ।
ग्यास चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्ने ।
ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्ने । सिलिण्डरबाट चुल्होसम्म पु¥याउने पाइप अनिवार्य फेर्ने ।
खाना पकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमा बन्द गर्ने ।
खाना पकाउँदा कोठाको झ्याल ढोका बन्द गर्ने, खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्ने । 

दुर्घटना पहिचान र सतर्कता
सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाँही ग्यास चुहावट हुन सक्ने जोखिम रहन्छ । यस्तो अवस्थामा उपभोक्ताले तत्कालै अपनाउन सक्ने उपाय यस्ता छन् :-

ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ ।
ग्यासको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।
ग्यास लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको निभ बन्द गर्नुपर्छ ।
ग्यास लिक भएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा बाहिर राख्ने ।
ग्यासको अनावश्यक भण्डारण नगर्ने ।

अग्नि नियन्त्रकको सुझाव

भान्सामा प्रयोग हुने ग्यासबाट हुने आगलागी जोखिमपूर्ण भए पनि अलि सचेत उपभोक्ताले आफैं ठूलो क्षति रोक्न सक्ने अग्नी नियन्त्रकको सुझाव छ ।

घरको भान्सामा प्रयोग हुने एउटा ग्यास लिक भएर लागेको आगोकै कारण सिलिण्डर तत्कालै पड्किदैन । आगो लाग्नेबितिक्कै लिक भएको ठाउँमा चिसो कपडाले छोप्ने, रेगुलेटर वा क्यापले ग्यासको चुहावट रोक्न सकिन्छ ।

ब्लान्केट भिजाएर सिलिण्डर छोप्ने, जुटको बोरा भिजाएर छोप्ने तथा पानी राख्ने बाल्टिनले बेस्सरी सिलिण्डर छोप्दा पनि आगलागी नियन्त्रण गर्न सकिन्छ ।

साथै मौज्दातमा भरेर राखेको अर्को सिलिण्डर ग्यास छ भने त्यसलाई तुरुन्तै बाहिर निकाल्नुपर्छ । भान्सामा हुने आगलागीमा आत्तिएर भाग्ने नभई थप क्षति रोक्न आगो फैलने स्रोत बन्द गर्ने र दमकललाई खबर गर्नुपर्ने ।

गाउँ सहर डेस्क

तपाईँको मत