वातावरण

“समृद्धिका लागि वन” आयोजनाका लागि विश्व बैंकबाट २ अर्ब ८० करोडको ऋण र अनुदान सम्झौता

काठमाडौं ।  नेपाल सरकार र विश्व बैंकबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताको कुल रकम मध्ये ७१ करोड रूपैँया अनुदान र २ अर्ब ९ करोड रूपैंया सहुलियतपूर्ण ऋण रहेको छ ।

आयोजनाले नेपालको दिगो वन व्यवस्थापनसँगै समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पुर्‍याउने अर्थ मन्त्रालय र विश्व बैकको भनाइ छ ।

सम्झौतामा सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका थिए ।

यस आयोजनाले ५० वटा  स्थानीय तहलाई सहयोग पुर्‍याउनेछ ।

अर्थ सचिव ढुङ्गानाले आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

मल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक जर्भोसले आयोजना हरित आर्थिक वृद्धिका लागि सुरुवातको बिन्दु हुने बताए ।

सो अवसरमा कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विश्व बैङ्कका राष्ट्रिय निर्देशक जर्भोसबीच आयोजनाको सहमति पत्रमा समेत हस्ताक्षर भएको थियो ।

आयोजनाको कार्यान्वयन गर्ने एक संस्थाका रूपमा कृषि विकास बैङ्कले वनमा आधारित साना र मझौला उद्यमहरूको स्थापना र सुदृढीकरण गर्न कर्जाको डिजाइन र परीक्षण गर्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत