राजनीति

एमाले संसदीय दलको बोर्ड गठन, नेपाल- खनाल पनि मनाेनित

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बोर्ड गठन गरेको छ । बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । बोर्डमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत २७ जना रहने बताइको छ ।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ ।बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल अनुपस्थित भएपनि सांसदहरु लालबाबू पण्डित, तुलसी थापा, नन्दा चपाइ, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा लगायतका सांसद सहभागि छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डको प्रमुखमा दलका नेता ओली छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनित भएका छन् ।

बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत