राजनीति

राजनीतिक दलहरूसँग राष्ट्रपतिको छलफलमा प्रधानमन्त्रीले संसद् विघटन जानुपर्ने कुरा उठाए

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान अवस्थामा सबै राजनीतिक दलहरू मिलेर जानुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले शिक्षा, स्वास्थ्य र जलवायु परिवर्तनको बारेमा आफ्नो ध्यानाकृष्ट भएको बताउँदै आफ्नो बङ्गलादेश भ्रमणको बारेमा जानकारी गराइन् ।

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चुनावमा जाने प्रस्ताव गरेका छन् । उनले प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरे । 

पुनर्स्थापित प्रतिनिधिसभाले पनि राम्रोसँग काम गर्ने नदेखिएको भन्दै प्रधानमन्त्री ओलीले अब सबै राजनीतिक दल मिलेर चुनावमा जाने प्रस्ताव समेत राखेका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो ।सर्वदलीय बैठकमा सहभागी नेमकिपा सांसद् प्रेम सुवालका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे कुरा उठाएका थिए । 'प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो । उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,' सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीकाे भनाइबाट आफूले नयाँ निर्वाचनमा जानुपर्ने भावना व्यक्त गरिएको पाएको बताए ।

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्वाङ लगायतका नेता सहभागी थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष  महन्त ठाकुर, र नेता राजेन्द्र महतोको सहभागिता थियो ।

प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बंगलादेश भ्रमणका लागि राष्ट्रपतिलाई शुभकामना दिए ।

आजको बैठकमा पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी नभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत