गाउँ सहर

मुलुकभरका स्थानीय तहमा कालोपत्रे सडक, प्रधानमन्त्री ओलीले गर्दैछन् उद्घाटन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट देशका सबै स्थानीय तहमा सरकारले जतिसक्दो छिटो कालोपत्रे सडक सञ्जाल विस्तार गर्ने सम्बन्धी कार्यक्रम उद्‌घाटन गर्दैछन् ‌। 

सरकारले प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका २८३ वटा स्थानीय तहलाई जोड्न सडक सञ्जाल निर्माण गर्ने भएको छ । हालसम्म पक्कि सडकले प्रदेश राजधानीसँग नजोडिएका  स्थानीय तहलाई सडक सञ्जालले जोड्ने काम सुरु गरिन लागिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच अन गरी आज सो कार्यक्रमको शुभारम्भ गर्दैछन्र । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत सञ्चालन गरिने सडक निर्माणको कार्य सातवटै प्रदेशमा एकसाथ सुरु हुँदैछ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री गणेशसिंह ठगुन्नाका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु) मा हस्ताक्षर हुनेछ । हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू गरिने उनले जानकारी दिए ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्ष यो कामका लागि  ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत