गाउँ सहर

नेविसंघसँग भएकाे छात्रवृत्तिकाे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण

काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत प्राप्त ब्यवस्थापन संकाय अन्तर्गत बीबीए, बीआइएम, बीबीएम, बीएचएम, बीबीए-फाइनान्स लगायतका कोर्सहरुमा १० प्रतिशत विद्यार्थीहरुलाई शत् प्रतिशत छात्रवृति दिने यस अघिको सहमति तत्काल कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

नेविसंघका अध्यक्ष राजिब ढुंगानाले आज (बुधबार) एक विज्ञप्ति  जारी गर्दै त्रिवि आफैँले गरेको सहमति सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा तत्काल लागू गर्न भन्दै विद्यार्थी आन्दाेलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न र सहमति लागू गर्न खबरदारी गरेकाे छ ।

उक्त कोर्सहरुमा त्रिवि र नेविसंघबीच २०७६ साउन १३ गते सम्पूर्ण छात्रवृत्ति पाउने भनी सहमति भइ सबै क्याम्पसहरुमा कार्यान्वयन गर्न २०७६ सालकै शैक्षिक सत्रबाट लागू हुने गरि त्रिभुवन विश्वविद्यालय र डिन कार्यालयले पटक पटक  परिपत्र गर्दा समेत हालसम्म कार्यान्वयन नगरी विद्यार्थीहरुबाट पैसा उठाएको र विद्यार्थीहरुले पाउने छात्रवृत्ति सम्बन्धित क्याम्पसले उपलब्ध नगराएको भन्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सहमति यथाशिघ्र कार्यान्वयन गर्न नत्र कडा आन्दोलनमा उत्रने बताए ।

महामन्त्री तिमल्सिनाले  विद्यार्थीहरुले पाउनुपर्ने छात्रवृत्ति उपलब्ध गराउने ब्यबस्था मिलाउन त्रिभुवन विश्व विद्यालय र सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस हरुलाइ खबरदारी गरेका छन् ।

यस्तै नेपाल विद्यार्थी संघको तर्फबाट बिगतमा भएको सो आन्दोलनको नेतृत्व गर्दै सहमतिमा समेत संघको तर्फबाट हस्ताक्षर गरेका शंकरदेव क्याम्पसका नेता दिपक ओझाले अधिकांश नीजि क्याम्पसहरुले छात्रवृत्तिको नाममा ४ लाख ५० हजारसम्म उठाएको सो रकम तत्काल फिर्ता नगरे कडा आन्दोलन गरिने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत