प्रतिनिधि सभा

प्रतिनिधि सभाको बैठक आज बस्दै, सरकारले ल्याएका अध्यादेश पास हाेलान् ?

काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ । आजको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

यसअघि प्रतिनिधि सभा पुनर्स्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो । उक्त बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेको थियो । सांसदले विरोध जनाएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

बुधबार पनि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छ । कांग्रेसले असंवैधानिक हुने गरी अध्यादेशहरू सरकारले ल्याएकोले संसदमा पेश हुन नदिने बताइरहेको छ ।

आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै आजको बैठकमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची समेत छ।

यस्तै कांग्रेस, माओवादी केन्द्र र जसपालगायत दलका सांसदहरुले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै हिजो संसद सचिवालयमा विरोधको सूचना दर्ता गराएका छन् । हिउँदे अधिवेशन सुरु भएपछिको पहिलो बैठक नै प्रभावित भएकोले आजको बैठक पनि त्यस्तै हुने सम्भावना बढेको छ ।

यस्तै दलहरूबीच विवाद बढ्ने सम्भावना भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठक नबसे पनि विवरणलाई केही हेरफेर गरेर बैठकको सम्भावित सूची सार्वजनिक गरिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत