गाउँ सहर

सानै उमेरमा विवाह नगर्ने युवतीहरुलाई नगरपालिकाद्वारा नगदसहित सम्मान

सर्लाही, हरिपुर । बालविवाह राेक्न सर्लाही स्थित हरिपुर नगरपालिकाले नयाँ तरिका अपनाएकाे छ । अविवाहित युवतीहरुलाई नगदसहित सम्मान ।

सर्लाही स्थित हरिपुर नगरपालिकाले २० वर्ष पूरा गरेका अविवाहित युवतीहरुलाई पाँच हजार रुपैंया नगदसहित सम्मान कार्यक्रम सुरु गरेको छ ।

सोमबारबाट २० वर्षसम्म विवाह नगरी बसेका नगरभित्रका सबै युवतीहरुलाई पाँच हजार नगदसहित सम्मान कार्यक्रम सूरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । कलिलै उमेरमा हुने विवाह रोक्ने उद्देश्यसहित अविवाहित युवतीलाई नगद पुरस्कार सहित सम्मान गर्ने अभियान प्रारम्भ गरिएको हरिपुरका मेयर जमिरुदिन मन्सुरले जानकारी दिए ।

मेयर मन्सुरका अनुसार २० वर्ष नपुगी बालिका एवं किशोरी उमेरमै विवाह गर्ने प्रचलनलाई रोक्नका लागि नगरपालिकाले यस्तो अभियान चलाएको हो । सानै उमेरमा विवाह हुँदा धेरैजसो वैवाहिक सम्बन्ध दिगो नहुने भएकाले बालविवाह लगायत सामाजिक विकृति रोक्नका लागि आफूहरुले २० वर्षसम्म अविवाहित रहेका युवतीलाई सम्मान अभियान सूरु गरेको मेयर मन्सुरले जानकारी दिए । प्रचलित कानून अनुसार २० वर्ष नपुगेसम्म युवतीले विवाह गर्न पाईंदैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत