अर्थतन्त्र

कोभिड १९ का कारण सामाजिक विकासमा आर्थिक शिथिलता : मन्त्री पुन

पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना भाइरस कोभिड १९ को महामारीका कारण उत्पन्न आर्थिक शिथिलताको प्रभाव सामाजिक विकासका हरेक क्षेत्रहरुमा परेको बताएकी छन् । मन्त्रालयमा आयोजित “अपाङ्गता भएका विद्यालयहरुको शिक्षण सिकाइमा प्रविधिको प्रयोग, प्रबोधिकरण तथा सामग्री हस्तान्तरण” कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री  पुनले अघिल्लो साल जस्तै यसपटक बजेट पाउने सम्भावना अलि कम रहेको तथा अहिले कोरोनाको कारणले गर्दा आर्थिक शिथिलता आएकोले कति बजेट पाउँछ, र त्यसभित्र पनि सामाजिक विकास मन्त्रालयले कति बजेछ पाउँछ, त्यसलाई हेरेर मात्र बजेटिङ् गरिने बताइन् ।

अपाङ्गता भएका बालबालिकाहरुको शिक्षण अभ्यासमा सहयोग गर्नेगरि तयार गरिएका प्रविधिमा आधारित शिक्षण सामग्रीहरुको प्रभावकारी उपयोगमा उनले जोड समेत दिईन् ।त्यसका लागि शिक्षकहरुलाई थप तालिमको व्यवस्था गरिने उनले बताईन् ।

शैक्षिक तालिम केन्द्र दमौलीका प्रमुख नेपालहरी रानाभाटले शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई यथोचित उपयोगका लागि सम्बन्धित सरोकारवालाहरुको ध्यान जानुपर्ने बताए ।

नेपाल नेत्रहिन संघका केन्द्रीय अध्यक्ष रमेश पोखरेलले अपाङ्गताका क्षेत्रमा काम गर्ने शिक्षकहरुलाई सरकारी तवरबाट आवश्यक तालिम र सुविधायुक्त आकर्षणको व्यवस्था गरिनु पर्ने बताए । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिन बहादुर गुरुङ्ले अपाङ्गताको क्षेत्रलाई प्राथामिकीकरण गरी योजनाहरु निर्माण गर्ने र सो अनुकलका कानुनहरु निर्माणमा आफ्नो पहलकदमी रहने विश्वास दिलाए ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले अहिले बौद्धिक अपाङ्गता, दृष्टिविहिन र बहिरा बालबालिकाहरुका लागि आवश्यक प्रविधिमा आधारिक शैक्षिक सामग्रीहरु निर्माणको काम गरिरहेको छ । बहिरा बालबालिकाहरुको लागि शैक्षिक तालिम केन्द्र दमौलीको सहयोग तथा श्री सृजना बहिरा आवासीय माध्यमिक विद्यालय लेखनाथको समन्वयमा केभसिटी मिडिया प्रा.लिले भर्चुअल शिक्षण सामग्रीको निर्माण गरिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत