गाउँ सहर

मुस्कान खातुनलाई अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।अमेरिकी विदेश मन्त्रालयले यस वर्षको  पुरस्कार खातुनलाई दिने निर्णय गरेको नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन् ।

मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली हुन् । त्यस्तै उनी यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छिन् ।

प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ ।  अघिल्ला वर्षमा पाकिस्तानकी किशोरी मलाला युसुफजई पनि सम्मान गरिएको थियो ।

नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् । उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।’

८ मार्चमा एक भर्चुअल पुरस्कार समारोहमा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कन सहभागी हुनेछन् ।

१५ वर्ष उमेर छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार भएको थियो । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । लामो समय अस्पतालको पीडादायी बसाइपछि उनी ठीक भइन् । उनले अहिले पनि विभिन्न समस्या भोगिरेहकी छिन् ।

यसका बाबजुद मुस्कानले एक दु:खद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि वकालत गरिन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एसिड आक्रमणकारीलाई कडा सजायको व्यवस्था गर्न माग गरिन् । त्यसपछि सरकारले तेजाब हमलासम्बन्धी अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गर्‍यो । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत