प्रेरणा

अरुको खुशीलाई बेवास्ता गर्ने जीवन जीउनुहुन्छ भने सबै मानिस तपाईंको दुश्मन बन्दै जानेछन्

सबै चेतन प्राणीमा सुख र दुःख, असल र खराव, हानिकारक र लाभकारक कुराहरू छुट्याउन सक्ने क्षमता हुन्छ । मानवजातिमा त यो क्षमता झनै बढी हुन्छ । यस्ता विभिन्न भावनाहरू चिन्न र तिनमा फरक छुट्याउन सक्ने क्षमताका कारण हामी सबै समान छौं । हामी सबै सुख नै चाहन्छौं, कोही पनि दुःखी हुन चाहँदैनौँ ।

यहाँनेर यी विभिन्न खाले भावनाहरू कसरी उत्पत्ति हुन्छन् भन्ने जटिल व्याख्या गर्नतिर म लाग्न सक्दिन । तर के कुरा स्पष्ट र छर्लंग छ भने हामी सबैजना सुखकै कामना गर्छौं र कष्ट तथा पीडाका अनुभवहरू मन पराउँदैनौं । हाम्रो जीवन त्यस्तो हुनु आवश्यक छ, जसले सामञ्जस्य र शान्ति ल्याओस्, विचलन र अशान्ति होइन ।

शान्ति र खुशी प्राप्त गर्ने सन्दर्भमा यो सोच्नु गलत हुन्छ कि बाहिरी भौतिक सम्पत्तिले हामीलाई समग्र रुपमा शान्ति र खुशी दिन्छ । भौतिक सुविधाका माध्यमबाट हामी भौतिक खुशी र सुखमा बृद्धि गर्न सक्छौं र केही भौतिक कठिनाइहरूबाट मुक्ति पाउन सक्छौं । तर भौतिक सुविधाबाट प्राप्त हुने सुख शरीरको स्तरमा मात्र सीमित हुन्छ ।

मानवजातिसँग सोच्ने, हिसाब गर्ने, मूल्यांकन गर्ने र लामो समयसम्मको योजना बनाउने अद्भूत क्षमता हुन्छ, जुन अन्य प्रजातिका प्राणीहरूसँग हुँदैन । त्यसैले मानवका रुपमा हामीले अनुभव गर्ने दुःख र सुखहरू धेरै सघन र शक्तिशाली हुन्छन् । त्यसै कारणले मानवजातिले शायद अरुभन्दा बढी दुःखको पनि अनुभव गर्छन् । यसको सम्बन्ध मानिसको सोच्न सक्ने क्षमतासँग छ ।

उदाहरणको लागि मानवजातिकै कुरा गरौं । तत्कालका लागि केही सुख पाउँदैमा वा केही दुःखबाट तत्कालका लागि मुक्ति पाउँदैमा जनावरहरू सन्तुष्ट हुन सक्लान् तर हामी हुँदैनौं । त्यसको कारण के हो भने हामी मानवजाति धेरै समय पछिसम्मको योजना बनाउन सक्छौं र हिसाबकिताब राख्न सक्छौं ।  अनि हामी आफू र अरूका बीच भेद गर्न थाल्छौं । यिनै भेदका आधारमा हामी भिन्नाभिन्नै देशहरू, भिन्नाभिन्नै जातिहरू र भिन्नाभिन्नै धर्महरूको कुरा गर्छौं । हामी अनगिन्ति विभेदहरूको सिर्जना गर्छौं, जसका कारण हामीमा अनेकौं विसंगत विचार र भ्रान्तिहरू उत्पन्न हुन थाल्छन् । यी सबले गर्दा हामी कहिले अति धेरै आशावादी र कहिले अति धेरै आशंकित हुन्छौं ।

यसरी हामी देख्छौं, मानिसको बुद्धि र अवधारणाहरूकै कारण हामी धेरै प्रकारका दुःखहरू अनुभव गर्छौं । आर्यदेवको  प्रसिद्ध कृति चतुःशतक (फोर हन्ड्रेड भर्स ट्रिटीज्) मा यो कुरा स्पष्टसँग उल्लेख छ (II.8) “सुविधासम्पन्न मानिसहरूले मानसिक पीडा झेल्नुपर्छ, सामान्य मानिसहरू चाहिँ भौतिक पीडा भोग्छन्। ” यसको अर्थ हो, जोसँग धेरै शक्ति वा सम्पत्ति हुन्छ, उनीहरूलाई संभवतः भौतिक दुःख धेरै नहोला, तर मानसिक दुःख चाहिँ धेरै हुन्छ । यसका विपरीत सामान्य मानिसहरूका लागि चाहिँ कपडा, भोजन आदि पर्याप्त नभएका कारण भौतिक दुःख धेरै हुन्छ । के कुरा स्पष्ट छ भने हामी आफ्नो सोच्ने तरीकाका कारण नै अतिरिक्त दुःखको अनुभव गर्छौं ।

मैले अघि भनेजस्तै भौतिक उन्नतिका माध्यमबाट हामी भौतिक दुःखलाई कम गर्न सक्छौं । तर मानसिक स्वभावका कारण हुने दुःखलाई जतिसुकै भौतिक सम्पन्नताबाट पनि हटाउन सकिन्न । त्यस्ता धेरै मानिस छन् जो आफूसँग सबै प्रकारका भौतिक सुखसुविधा भएपनि अनेक प्रकारका मानसिक पीडा झेलिरहेका हुन्छन् । यस्ता उदाहरण हामी सबैले देखेका हुन्छौं । यी असुविधाहरू, समस्याहरू, र दुःखहरू मानसिक रवैयाका कारण हुन्छन्, र तिनलाई बाहिरी भौतिक सुविधाबाट होइन बरु आफ्नो मानसिक दृष्टिकोणमा परिवर्तन ल्याएर कम वा निर्मूल गर्न सकिन्छ ।

छोटकरीमा भन्नुपर्दा सुख र दुःखको अनुभव दुई तरीकाले गर्न सकिन्छ । पहिलो धेरै हदसम्म इन्द्रियजन्य अनुभवसँग सम्बन्धित छ । हामी हाम्रा पाँच ज्ञानेन्द्रियहरूबाट जे ग्रहण गर्छौं, त्यसमा हाम्रो सुख र दुःखको अनुभव निर्भर गर्छ । त्यसबाहेक मन र मानसिक स्तरबाट गरिने सुख र दुःखका अनुभवहरू पनि छन् । यी दुइमध्ये मनको स्तरबाट अनुभव गर्ने सुख र दुःख बढी प्रगाढ हुन्छन् । तिनीहरू ज्ञानेन्द्रियबाट गरिने अनुभवभन्दा धेरै बलशाली हुन्छन् ।

उदाहरणका लागि हामीसँग भौतिक सुखसुविधाका सम्पूर्ण साधनहरू उपलब्ध छन्, र हाम्रा सामु भौतिकस्तरमा कुनै दुःख वा समस्या छैन भने पनि मन अशान्त छ र मनमा पीडा छ भने यी सबै भौतिक सुखसुविधाहरू हामीले मनभित्र अनुभव गरिरहेका पीडाहरू हटाउन असमर्थ हुन्छन् । अर्कोतर्फ, भौतिक रुपमा केही असुविधा वा पीडाहरू विद्यमान छन् भने पनि त्यो अवस्थालाई मनले स्वीकार गर्न सकियो भने त्यस्तो भौतिक पीडालाई सहन सकिन्छ ।

यसलाई एक उदाहरणबाट बुझौं । कुनै व्यक्ति आफ्नो धार्मिक आस्था निभाउनका लागि पूर्णरूपमा समर्पित छ । उसका सामु अनेकौं भौतिक कठिनाईहरू हुन सक्लान्, तर उक्त धार्मिक आस्था निभाउँदा प्राप्त हुने तृप्ति र सन्तुष्टिका कारण, र आफूले हासिल गर्नुपर्ने लक्ष्यको स्पष्ट चित्र आफ्ना समक्ष भएका कारण उक्त व्यक्तिले ती भौतिक कठिनाईलाई समस्याको रुपमा नलिई आभूषणका रुपमा लिन्छ । अगाडि ठूलो लक्ष्य देखिएका कारण उसको मन उक्त अवस्थाको सामना गर्न तयार हुन्छ र भौतिक कठिनाईहरूलाई जितेर बढ्न सक्छ । यदि ठूलो उद्देश्य र लक्ष्य लिएर काम गरिरहिएको छ भने भौतिक कठिनाईहरूलाई पन्छाउन हामी सक्षम हुन्छौं । यस्ता उदाहरण धेरै छन् । भौतिक कठिनाईहरू जति धेरै भोग्नु परे पनि हामी तिनलाई अत्यधिक हर्ष र अत्यधिक खुशीका साथ सामना गर्न सक्छौं, तिनलाई आभूषणका रुपमा लिन्छौं ।

छोटकरीमा भन्नुपर्दा , हाम्रा ज्ञानेन्द्रियहरूका माध्यमबाट हुने अनुभव भन्दा मनका माध्यमबाट हुने अनुभव बढी महत्वपूर्ण हुन्छ ।

मानसिक समस्याहरूको सामना गर्ने क्रममा मैले अघि भनेजस्तै विशुद्ध रूपमा आफ्नो मनोवृत्ति र अवधारणाका कारण मात्र आइपरेका समस्या हुन् भने तिनलाई मनोवृत्तिमा अलिकति परिवर्तन ल्याएर कम वा निर्मूल गर्न सकिन्छ । मानसिक समस्याहरूबाट मुक्ति पाउने तरीका हुन्छ, त्यसको उपाय हुन्छ, र त्यसको कुनै प्रक्रिया हुन्छ । ती उपाय र प्रक्रियाको बारेमा जान्नु आवश्यक छ जसबाट हामी मानसिक समस्यालाई कम वा निर्मूल गर्न सक्छौं । यस्ता उपाय र प्रक्रियाको कुरा गर्दा हामीले आफूभित्र भएका जन्मजात असल मानवीय गुणहरू चिन्न र पहिल्याउन आवश्यक छ ।

यसलाई म यसरी हेर्छुः मानव समाजलाई राम्रोसँग अध्ययन गर्ने हो भने हामी पाउँछौं कि हामी सबै सामाजिक प्राणी हौं । यसको मतलब हो – हामी समाजमा बस्छौं, र हामी एक आपसमा पूर्णरूपमा निर्भर हुन्छौं । जन्मेको क्षणदेखि वयस्क भएर आफ्नो हेरचाह आफैं गर्न सक्ने नहुञ्जेल हामी अरुकै दया मायामा बाँच्छौं । हाम्रो आफ्नै शारीरिक स्वास्थ्यका लागि पनि अरुको दया माया आवश्यक हुन्छ । यसको कारण हो – हाम्रो जैविक बनावट र शारीरिक संरचना ।  हामी अरुप्रति जति धेरै आत्मीयता देखाउँछौं र एक आपसमा जति धेरै करुणा तथा स्नेहको भाव विकास गर्छौं, त्यति नै धेरै हामी शान्त र खुशी हुन्छौं । यस्तो लाभकारी गुण भएका कारण हामी भन्न सक्छौं कि यी आधारभूत मानवीय मूल्यहरू महत्वपूर्ण छन्, तिनीहरू आवश्यक छन्, र तिनीहरू हामीमा हुनुपर्ने गुण हुन् ।

केही अरु जीवको उदाहरण लिऊँ। पुतली र कछुवाको कुरा गर्ने हो भने ती जीवका सन्तान आमामाथि धेरै निर्भर भएको देखिँदैन । पुतलीले अण्डा पारेपछि हिँड्छ, त्यसबाट निस्कने सन्तानले आमाबुबालाई भेट्दा पनि भेट्दैन । त्यस्तै कछुवाले अण्डा पारेपछि छोडेर हिँड्छ । मलाई लाग्दैन कछुवाको आमालाई उसको शिशुको छेउमै पुर्यायो भने पनि त्यो शिशुले आमाप्रति कुनै प्रतिक्रिया देखाउँछ वा कुनै प्रकारको माया ममता प्रदर्शित गर्छ । यो जातिमा बच्चाहरू जन्मदेखि नै आत्मनिर्भर हुन्छन् । चाहे पूर्ववर्ती जीवनको बानीका कारणले होस् वा शारीरिक बनावटका कारणले, कछुवाका बच्चाहरू आफ्नो रेखदेख आफैं गर्न सक्छन् । समुद्रको छालको आवाज सुने भने उनीहरू स्वतः विस्तारै विस्तारै समुद्रतर्फ जान्छन् । त्यहाँ उनीहरू आफ्नो रक्षा आफैं गर्छन् । उनीहरूका आमा आफ्नो शिशुलाई समुद्रमा पौडी खेल्न सिकाउन आउँदैनन् । यी जीवहरूमा त्यस्तो कुनै कुरा देखिँदैन । उनीहरू जन्मदेखि नै स्वतन्त्र हुन्छन्, र आमाबुबा तथा सन्तानका बीच खासै मायाप्रेम देखिँदैन ।

मानवजातिको सन्दर्भमा चाहिँ शारीरिक संरचनाका कारण जन्मेदेखि नै हामी आफ्ना आमाबुबाप्रति, त्यसमा पनि खासगरी आमाप्रति, प्रगाढ प्रेम र स्नेह देखाउँछौं । मैले यो कुरा पूर्व वा पछिको जन्ममा विश्वास गरेर त्यसको आधारमा वा धर्मको चर्चा गर्ने सन्दर्भमा भनेको होइन । तपाईंले मानवजाति कसरी बाँच्छन् र उनीहरूको विकास कसरी हुन्छ भन्ने कुराको अलि गहिरोसँग अध्ययन गर्नुभयो भने पाउनुहुनेछ कि हाम्रो जीवन मानवीय मूल्यहरूमा, करुणामा, र प्रेममा निर्भर गर्छ । मानवजातिको शिशुको हकमा उनीहरू जन्मेको क्षणदेखि नै आमाको दूधमा निर्भर हुन्छन् । विस्तारै आफ्नो हेरचाह आफैं गर्न सक्ने नहुञ्जेल उनीहरू पूर्णरुपमा मातापिताको दया मायामा  निर्भर हुन्छन् । ठूलो भैसक्दा पनि उनीहरू आफूजस्तै अरु मानिसको दयालु व्यवहारमा निर्भर हुन्छन् ।

जबसम्म कोही मान्छे तपाईंको साथमा छ र कसैले तपाईंको हेरचाह गरिरहेको छ, तपाईं आफ्नो घरमा आरामपूर्वक बसेजस्तो धेरै नै शान्ति, धेरै नै निश्चिंतताको अनुभव गर्न सक्नुहुन्छ । तपाईंले कसैलाई हानि नपुर्याउने र सकेसम्म सबैलाई सकेजति सहयोग गर्ने जीवन जीउनु आवश्यक छ । तपाईंसँग प्रेमको यस्तो भाव छ भने र अरु चेतन प्राणीहरूप्रति स्नेहको भाव छ भने तपाईंलाई पनि अरु सबैले मन पराउनेछन् र प्रेम गर्नेछन् ।   मृत्युको समयमा तपाईंले बेचैनी, डर, वा मानसिक विचलनको अनुभव गर्नुपर्ने छैन ।

तर जब हामी ठूला हुन्छौं, कहिलेकाहीँ एक प्रकारको मानव बुद्धि हामीमाथि हावी हुन आउँछ । यस्तो बुद्धिले कहिलेकाहीँ हामीलाई खोक्रो आशा दिन्छ। यही बुद्धिमार्फत हामी नयाँ विषयहरूको ज्ञान प्राप्त गर्छौं र नयाँ जानकारीहरू ग्रहण गर्छौं । यस्ता जानकारीका आधारमा हामी सोच्न सक्छौं – “म अरु मानिसमाथि हैकम जमाउन सक्छु । अरु मानिसमाथि शोषण गर्न सक्छु । मसँग यस्तो गजबको बुद्धि र ज्ञान छ, त्यसैले मेरो हकमा सामान्य मानवीय मूल्य मान्यताहरूले धेरै अर्थ राख्दैनन् ।” तपाईं धेरै सफल व्यक्ति हुनुहुन्छ भने त झन् त्यस्तो विचार आउन सक्छ । यस्तो खोक्रो सोच तपाईंको मनभित्र आयो भने तपाईंले एक बेग्लै प्रकारको मनोवृत्ति वा धारणा बनाउन सक्नुहुन्छ । अरुमाथि हैकम चलाउन वा शोषण गरेर फाइदा उठाउन सक्छु भन्दै कुनै हिच्किचाहट विना त्यसै गर्न सक्नुहुनेछ ।

तर यथार्थमा के हुन्छ भने तपाईं अरुको खुशीलाई बेवास्ता गर्ने खालको जीवन जीउनुहुन्छ भने  विस्तारै सबै मानिस तपाईंको दुश्मन बन्दै जानेछन् । त्यस्तो अवस्थामा आफ्नो दायाँ वायाँ अगाडि पछाडि कतैतिर पनि आफूलाई मन पराउने कोही मान्छे पाउनुहुने छैन । एकदम नकारात्मक जीवन बाँचेका कारण तपाईंको मृत्युमा सबैजना खुशी हुनेछन्, तपाईंको अन्त्य आयो भनेर । तपाईं आफैँलाई पनि पछाडि फर्केर हेर्दा कस्तो खालको जीवन बाँचेछु भनेर पश्चात्ताप हुन थाल्नेछ । आफूले बाँचेको जीवनका कारण कसैले पनि वास्ता नगर्दा तपाईंलाई धेरै दिक्क लाग्न थाल्नेछ । यी आधारभूत मानवीय मूल्यहरूलाई बेवास्ता गरेर वास्तविक खुशी पाउँछु र दीर्घकालीन शान्ति पाउँछु भनेर सोच्नु व्यर्थ हुनेछ । यो कुरा छर्लङ्गै छ । मृत्युको बेला कसैले तपाईंको हेरचाह गर्ने छैन, कसैले तपाईंलाई माया गर्ने छैन, र यो संसार छोड्ने बेला नितान्त खाली हात हुनुपर्नेछ । एक चरम खोक्रोपना, चरम निराशाको अवस्था आउनेछ। त्यसैले अन्य चेतन प्राणीहरूको खुशीको वेवास्ता गर्ने जीवन जीउनु भनेको साँच्चिकै मूर्खतापूर्ण काम हो ।

यसका विपरीत आफ्नो उत्कृष्ट मानवीय बुद्धि र प्रज्ञाको उपयोग गर्दै यी सारभूत मानवीय मूल्यमान्यताको कदर गर्न र तिनको प्रवर्धन गर्न सक्नुभयो भने तपाईंले मानवीय करुणालाई अनन्तसम्म फैलाउन सक्नुहुनेछ । बुद्धिमान मान्छेले जीउने जीवन भनेको यस्तो हो । यही हो आफ्नो जीवनलाई सार्थक बनाउने सही उपाय ।(डा. अलेक्जेण्डर बर्जिनद्वारा केही अंश सम्पादित। नेपाली अनुवाद अरुण पौडेल -स्टडी बुद्धिजम)

गाउँ सहर डेस्क

तपाईँको मत