प्रेरणा

सन्तुष्ट भए स्वतः खुसी, र यहि जीवन हो

मानिसका इच्छा र चाहना असीमित हुन्छन् । हामी अधिक इच्छाहरु पूरा गर्न चाहन्छौँ । अनन्त इच्छा पूरा गर्ने कोसिस अवश्य गर्नुपर्छ तर पूरा नहुँदा निराशा हुनु हुँदैन । जब हामी केहि कुराबाट सन्तुष्ट हुन्छौँ, स्वतः खुसी हुन्छौँ ।

हामीसँग सबैकुरा छ तर कसैसँग हामीभन्दा उत्कृष्ट हुनसक्छ, त्यो बेला सोपनि पाउने चाहनाले सताउन थाल्दछ । कसैसँग कुनै कुरा बढी हुन्छ त कसैसँग कम । आवश्यक चाहना राख्नु ठिक हो । तर तुलनात्मक रुपमा कुनै चिजको चाहना राख्नु गलत हो । यस्तो चाहना राखे जीवन कहिल्यै खुसी हुन सक्दैन । तुलनाभन्दा प्रेरणा आवश्यक छ । कुनै थप सुविधा प्राप्त गर्नुछ भने मेहनत गर्ने प्रेरणा लिनुहोस् ।

इन्टरनेट, सोशल मिडियामा नयाँ-नयाँ वस्तुको आगमन हुँदा चाहना बढ्नु स्वभाविक हो । नसक्दा हेरेर चाहना पूरा गर्न सकिन्छ । तर नसक्दा नसक्दै चाहना राख्नु गलत हो । सो वस्तु खरीद गर्ने चाहना बढ्छ र पूरा हुन नसक्दा निराशा हाता लाग्दछ ।

यसकारण कोहि तपाईंको बारेमा के सोच्दछ सो कुरा नजरअन्दाज गर्नुहोस् । साथीहरुले अनेक समयमा कुनै वस्तुको कमी महशुष गराउँछन् । त्यसबाट विचलित नहुनुहोस् । देखाउनको लागि खर्च नगर्नुहोस्, यसले असन्तुष्टि बढाउँछ ।

दिनको अन्त्यमा खुसी भएर यो सोच्नुहोस् कि तपाईंसँग जे छ त्यसमा खुसी हुनुहुन्छ । यो खुसी दैनिक व्यक्त गर्नुहोस्, महशुष गर्नुहोस् । विस्तारै-विस्तारै बानी पर्न थाल्दछ ।

धेरैपटक आफूसँग भएको भन्दा राम्रो, जागीर राम्रो जस्ता अनेक कुराको कमीको महशुष हुन सक्दछ । यसबाट असन्तुष्ट हुनु स्वभाविक हो । तर आफूसँग भएको कुरासँग सन्तुष्ट हुन सक्नुपर्छ । साना-साना कुराहरुमा ठूलो खुसी संकलन गर्न सिक्नुपर्छ ।

अन्त्यमा, हरेक व्यक्तिको आफ्नै खुबी हुनसक्छ । कोहि के मा, कोहि के मा उत्कृष्ट हुनसक्छ । त्यहि कुरालाई बढाउने हो, नभएको चिज खोज्ने होइन । सीप, कला जे भएपनि त्यसमै जीवन रोज्नुपर्छ । अनिमात्र जीवन सुखी र सन्तुष्ट हुने गर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत