अर्थतन्त्र

राताम्मे भएकाे शेयर बजारमा इन्फ्रास्टक्चर बैंककाे प्रतिकित्तामा १३२ रुपैयाँको उतार चढाव

काठमाडौं । आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उतार चढाव देखिएकाे छ ।

मंगलबार नेप्से परिसूचक २१.१६ अंक घटेर २५८६.५१ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक घटेर ४६७.९४ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३२ अंक घटेर बन्द भएको थियाे ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको बजारमा ८८ अंकसम्मको गिरावट आए अन्तिममा केही सम्हालिँदै २१ अंक घटेर बन्द भएको छ ।

यस दिन बजारमा २०५ कम्पनीको ८३ हजार ३५७ पटकको कारोबारमा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ७७ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज दोहोरो अंकले बजार घटेपनि चार कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । यस दिन नेपाल फाइनान्स, अपी पावर र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको शेयरमूल्य यस दिन ६६ रुपैयाँ घटेर ५९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सो बैंकको यस दिन ७३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

सुरुवाति समयमा १० प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको बैंकको शेयरमूल्य कारोबार खुलेको ६६० रुपैयाँबाट पनि १० प्रतिशत घटेर ५९४ रुपैयाँमा झरेको हो । दिनभरमा बैंकको शेयरमा प्रतिकित्ता १३२ रुपैयाँको उतार चढावको अवस्था रह्यो ।

सकारात्मक सर्किट मूल्य ७२६ रुपैयाँमा ६ लाख ३५ हजार ३०० कित्ता शेयर खरीद बिक्री भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत