गाउँ सहर

सुनकाेसीकाे पुल ६ वर्षमा पनि नबनेपछि निर्माण सुचारु गर्न दबाब, अनियमितताको भन्डाफोर गरिन्छ : महामन्त्री तिमल्सिना 

सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको मेरुदण्ड मानिने सिन्धुपाल्चोक र दोलखालाई जोड्ने सुनकोसी नदीको पक्की पुल निर्माण कार्य ६ वर्षसम्म पनि बन्न सकेको छैन ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माणको काम अलपत्र छाडेपछि तीन वर्षअघि बन्नुपर्ने सुनकोसी पुल ६ वर्ष बितिसक्दासमेत पुल निर्माण नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका स्थानीयले शनिबार पुलमा धर्ना दिएका छन् । प्रभावित क्षेत्रका सयौँ स्थानीयले पुलमा भेला भएर ठेकेदार निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका छन् ।

सो पुल २०७२ सालबाट निर्माण सुरु भएको थियो । पुल २०७५ सालमा नै तयार हुनुपर्ने सम्झौता थियो तर ठेकेदारले निर्माण कार्यमा ढिलाइ र लापरबाही गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् । २०६७ सालबाट स्थानीय समाजसेवी माधव भण्डारीको नेतृत्वमा उक्त पुल सुनकोसीमा निर्माण गर्न पहलकदमी भएको थियो । सोही पहलकदमीका कारण २०६९ सालमा तत्कालीन सरकारले रातो किताबमा सुनकोसीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

यो पुलसँगै निर्माण सुरु गरिएका अरू पुलहरू निर्माण सम्पन्न भएर यातायातका साधान सञ्चालनमा आइसकेका छन् तर सो पुल निर्माण काम आधा पनि सकिएको छैन । पुल निर्माण भएको हालको काममा पनि गुणस्तरहीन र कमसल काम भएको स्थानीयवासीले आरोप लगाएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–३ का स्थानीय गोकुल नेपालले पुल निर्माणमा चरम लापरबाही भएको बताएका छन् । ४० मिटर पुल निर्माणमा कमसल खालका कच्चा पदार्थ प्रयोग भएको समाजसेवी माधव भण्डारीले बताएका छन् । पुलका सबै खम्बाहरू चर्किसकेको उनले बताए ।

पुलका खम्बा चर्किसकेको कुरातर्फ ठेकेदार पक्षलाई पटक पटक निर्देशन गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर गोविन्द डमरुले बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय महामन्त्री बलेदव तिमल्सिनाले पुल निर्माणको गति नलिएको, भएका काम पनि गुणस्तरहीन भएकोले तत्काल सुधार गरेर निर्माण कार्य सुचारु गर्न आग्रह गरेका छन् ।

पुल निर्माणको काममा सरकारका तर्फबाट र ठेकेदार पक्षबाट भएको लापरबाही, स्थानीय तहको उदासीनताविरुद्ध स्थानीय व्यक्तिहरूले विरोध गर्न थालेको कुरा बाह्रबिसे धुस्कुन पिस्कर सुनकोसी पुल निर्माण सरोकार समितिका संयोजक माधव भण्डारीले बताएका छन् । पुल निर्माणको ढिलाइले त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गतका स्थानीय बासिन्दा हिउँद र वर्षायाममा आवतजावतमा अवरोध खेप्नु परिरहेको स्थानीय समाजसेवी तथा काँगे्रस नेता रामकुमार लामाले गुनासो गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत