समाज

आत्महत्या गर्नेहरुको संख्या बढ्दै

काठमाडौँ । चितवनमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लामा बर्षेनि आत्महत्या गर्नेको संख्या अत्यधिक हुदै गएको छ । प्रहरीको तथ्याङ अनुसार चालु आ व २०७७/७८ को चालु ७ महिनामा  मात्रै १ सय २० जनाले आत्महत्या गरेका छन्  । आत्महत्या गर्नेहरुमा ६६ जना पुरुष र २९ जना महिलाहरुले आत्महत्या गरेका छन् भने २ जना १६ वर्ष मुनिका बालक र ३ जना बालिका रहेका छन् ।

आत्महत्या गर्नुको प्रमुख कारणमा बेरोजगारी, व्यवसायमा असफलता, घरझगडा, पारिवारिक विछोड तथा मानसिक समस्या लगाएत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाले जानकारी दिएका छन् । थापाले भने ‘बढ्दै गएको शहरीकरणसँगै महत्वकांक्षा पनि थपिँदै जाने तर पुरा नहुने, व्यवसायमा असफता, श्रीमान श्रीमती विचको झगडा लगायतका कारण पनि आत्महत्याका घटना बढेका छन्,’ ।

यस्तै आफूले गर्न खोजेको काममा चाहेजस्तो सफलता हाँसिल गर्न नसक्दा पनि मानिसहरु मानसिक रोगको शिकार हुने र त्यो अवस्थामा सहि र गलत छुट्याउन नसक्दा आत्महत्याको बाटो रोज्ने गरेको भेटिएको प्रवत्ता थापाको भनाइ छ । उनले भने, ‘आफ्ना समस्याका समाधान तथा अन्य विकल्पहरु छन् भन्ने कुराहरु सोच्न नसक्ने अवस्थामा पुगेपछि आफूलाई नै अन्त्य गर्नतिर लाग्छन् । आत्महत्यालाई नै उनीहरू उत्तम विकल्प ठान्छन् ।’

यस्तै मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबीलगायत पनि आत्महत्याका लागि कारण बन्ने गरेको थापाको भनाई छ ।वर्षेनी आत्महत्याका घटनाहरु बढ्दै गएपछि आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सुक्ष्म अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

‘जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ यसले समाज डरलाग्दो अवस्थामा जाँदै छ भन्ने अवस्थाको चित्रण गरेको छ त्यसैले पनि बेरोजगार युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने । समुदायका हेरक नागरिकले जीवनको मूल्य, परिवारप्रति, समाजप्रतिको दायित्वका साथै जिम्मेवारीको विषयमा बुझ्न आवश्यक रहेको डिएसपी थापाले बताए । 

मनिसमा भएको जटिलतालाई परिवार, समाजले विश्लेषण गरेर सहयोग गर्न सकेमा दैनिक हुने आत्महत्यालाई घटाउन सकिने डिएसपी थापाको भनाइ छ । हालको कानुनमा आत्महत्या गर्न बाध्य बनाउने व्यक्तिलाई अपराधिकरण गरेको अवस्था पनि रहेको उनले बताए । समाजमा परिवारमा कसैको व्यक्तिगत जीवनमा, आफ्नो मान, प्रतिष्ठामा ठेस पुर्याइ कोही—कसैलाई आत्महत्या गर्न बाध्य बनाएको अवस्था देखिए कानुनले दण्डनिय गर्ने डिएसपी थापाले बताएका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत