विश्व

उडिरहेको विमानको इन्जिनमा आगलागी, २३१ यात्रु सकुशल

एजेन्सी । उडिरहेको विमानको इन्जिनमा आगलागी भएको छ । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेको हो । आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । 

विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए । अधिकारीहरुले विमानका चालकले आपतकालीन अवतरण गर्न विमानस्थलको टावरसँग सम्पर्क गरेर तत्कालै विमानलाई डेन्भर विमानस्थलतर्फ फर्काएको अधिकारीहरुले जनाएका छन् ।  

विमानभित्रका यात्रुले खिचेको तस्वीर एवं भिडियोमा बोइङ ७७७–२०० को उक्त विमानको दायाँतर्फको इन्जिनमा ठूलै आगोको मुस्लो देखिएको थियो । आगोका कारण इन्जिनको बाहिरी कभर खुस्किएर उछिट्टिएको थियो । विमानमा २३१ जना यात्रु र १० जना चालक दलका सदस्य रहेका थिए । 

विमानमा सवार वा जमिनका कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको अधिकारीहरुले बताएका छन् ।

विमानमा सवार यात्रु डेभिड डेलुसियाले डेन्भर पोस्टलाई प्रतिक्रिया दिँदै आफूहरुलाई एक पटक बाँच्छु भनेर आशा नै नभएको बताएका छन् । 

युनाइटेड एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दैै डेन्भरबाट होनोलुलुतर्फ उडेको विमानको इन्जिनमा समस्या देखिएको तर विमानलाई सकुशल डेन्भर फर्काइएको जनाएको छ ।

विमानका पाइलटले “विमानको इन्जिनमा आगो लागेकाले तत्कालै फर्कन अनुमति पाऔं” भन्दै टावरसँग सम्पर्क गरेका थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत