राजनीति

शान्ति र समृद्धिको आधार नै प्रजातन्त्र : राप्रपा

फिदिम । शान्ति र समृद्धिको आधार नै प्रजातन्त्र भएकाे राप्रपाले जनाएका छन् ।

‘संविधान, विधिको शासन र व्यवस्थालाई लिएर हाल एक किसिमको अन्योल छाएको छ । त्यसैले प्रजातन्त्रको मूलभूत आदर्शलाई बचाई राख्नु महत्वपूर्ण भएको छ । राजा र जनताले संयुक्त रुपमा प्राप्त गरेको प्रजातन्त्रको प्रतिफल जारी राख्नु टड्कारो भएको छ,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले प्रजातन्त्र दिवसको अवसरमा राप्रपा पाँचथर जिल्ला कार्य समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

नेकपा मालेका नेता लय बाँस्कोटाले भने, ‘प्रजातन्त्रको आधार गुम्न दिन हुन्न । विभिन्न कालखण्डमा जनताले बलिदानी दिएर प्राप्त गरेको जनताको शासन खेर जान दिन हुन्न । राष्ट्रिय एकताको जगमा प्रजातान्त्रिक पद्धति, मूल्य र मान्यतालाई बचाइ राख्नु जरुरी भएको छ । शान्ति र समृद्धिको आधार नै प्रजातन्त्र हो ।’

समारोहका अध्यक्ष, राप्रपा पाँचथर जिल्ला अध्यक्ष राजकुमार जोशीले भने, ‘राष्ट्रिय शक्तिको एकतामा नै राष्ट्रियता सबल हुने हो । राष्ट्र र राष्ट्रियताको निम्ति राजा र जनता फेरी पनि एक ठाउँ उभिन आवश्यक भएको छ । समयको माग नै यही हो ।’

राप्रपाका जिल्ला उपाध्यक्ष कमल चेम्जोङले भने, ‘राष्ट्रिय पहिचान र राष्ट्रिय संस्थाहरुको बलमा दिगो प्रजातन्त्र स्थापना गर्नु पर्दछ । त्यसको लागि निष्पक्ष अभिभावकको रुपमा दलभन्दा माथि रहने राजसंस्था र सबै धर्म, आस्था र परम्पराको बराबर सम्मान हुने सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र कायम राख्नु परेको हो ।’

राजा त्रिभुवनको योगदान कोशेढुंगा : अध्यक्ष जोशी
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय पाँचथरद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा जिल्ला अध्यक्ष राजकुमार जोशीले प्रजातन्त्रको विकासमा राजसंस्थाको भूमिका अतुलनीय रहेको बताए ।

‘प्रजातन्त्रको पक्षमा श्री ५ त्रिभुवनले गरेको योगदान कालजयी छ । नेपालको प्रजातन्त्र र राजनीतिक विकासक्रमको सन्दर्भमा, राजा र जनताले गरेको सात सालको क्रान्ति महत्वपूर्ण कोशेढुंगाको रुपमा स्थापित छ । प्रजातन्त्र संकटमा परेको बेला आम नेपालीले सोही आदर्श मनन् गर्नु पर्ने भएको छ,’ जोशीले भने ।

प्रजिअ पूण्य प्रसाद ढकालको अध्यक्षता सम्पन्न राष्ट्रिय प्रजातन्त्र दिवस, शुभकामना आदान प्रदान कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङ, विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत